ओलीको दावीः एमालेको सरकार नभए धरहरा ढलेको ढल्यै हुन्थ्यो, मेलम्ची आउँथेन – Nepal Press

ओलीको दावीः एमालेको सरकार नभए धरहरा ढलेको ढल्यै हुन्थ्यो, मेलम्ची आउँथेन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वमा सरकार नबनेको भए धरहरा र रानीपोखरीको पुनर्निर्माण सम्भव नै नहुने दावी गरेका छन् । काठमाडौंमा मेलम्चीको पानीसमेत यो सरकारले सजिलै सुचारु गर्न नसक्ने उनले बताए ।

नेपाल सम्वतका अवसरमा कार्यक्रममा ओलीले भने, ‘एमालेको सरकार नभएको भए धरहरा आज पनि ढलेको ढल्यै हुन्थ्यो । त्यही भत्किएको चुच्चो हेरेर बस्नुपथ्र्यो । रानीपोखरी पनि जस्ताको तस्तै हुने थियो ।’

आफू पहिलोपटक प्रधानमन्त्री बन्दा धरहरा पुनर्निमाण अभियान सुरु गरेको तर दोस्रोपटक प्रधानमन्त्री बन्दा पनि त्यही अवस्थामा रहेको उनले बताए । अहिले आफ्नो सरकारले धरहरा बनाएर उद्घाटन गरिसक्दापनि निर्माण नसकिएको भनेर झूटो प्रचार गरिएको उनको भनाइ छ ।

‘हामीले त्यहाँ गाडी पार्किङ र बगैंचा पनि बनाउने भनेका छौं । त्यो बेग्लै संरचना हो । भिमसेन थापाले बनाएको धरहरा पुनर्निमाण भइसक्यो । कसैलाई विश्वास छैन भने गएर हेर्दा हुन्छ । राम्रो देखिएन भने पावरवाला चश्मा लगाएर हेर । अझै विश्वास लागेन भने छामेर हेर । त्यति गर्दा पनि नभए माथि चढेर टुप्पाबाट हेर ।’

आफ्नो सरकार हटेपछि धरहरास्थलको बाँकी काम पनि रोकिएको ओलीले टिप्पणी गरे । अहिले काम रोकिएकोमा केही सञ्चारमाध्यमले आफ्नो सरकारलाई दोष दिएको भन्दै उनले रोष प्रकट गरे ।

ओलीले एमाले सरकार नभएको भए मेलम्ची पनि काठमाडौंमा नआउने दावी गरे । उनले भने, ‘अबको १०/१५ वर्षसम्म पनि मेलम्ची आउने थिएन । हामीले ल्यायौं । अहिले बाढीले अलिकति बिगारेको छ । तर, यो सरकारले सजिलै फेरि सुचारु गर्न सक्दैन । किनकी सरकारको त्यता ध्यानै छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर