‘चपली हाइट-३’ ट्रेलर : प्रेम, सेक्स र बदला ! – Nepal Press

‘चपली हाइट-३’ ट्रेलर : प्रेम, सेक्स र बदला !

काठमाडौं । नौवर्षअघि ‘चपली हाइट’ रिलिज हुँदा दुई कारणले सहर हल्लिएको थियो । पहिलो : बिनिता बरालको सेमिन्यूड फोटोसुट र दोस्रो : नेपाली फिल्ममा मनोवैज्ञानिक थ्रीलर जनराको फिल्म सुरुआत ।

नौ वर्षपछि ‘चपली हाइट’कै तेस्रो श्रृंखलाको फिल्म ट्रेलर रिलिज भएको छ । यस्तो लाग्छ, सन् २०२१ सम्म आइपुग्दा चपली हाइटको गुदी साइकोलजिकल थ्रीलर कम र मर्डर थ्रीलर ज्यादा देखिन्छ ।

यी दुई जनराबीच खास प्रकारको भिन्नता छ । साइकोलोजिकल थ्रीलरमा दर्शक र पात्रबीच अन्तक्रिया हुन्छ भने मर्डर थ्रीलरमा हिंसाको प्रयोग ज्यादा ।

म्युजिक भिडिओमा समेत चलेका निकेश खड्काले तेस्रो सिरिजको निर्देशकीय पारी सम्हालेका छन् । खड्काले दीपेन्द्र खनालकै निर्देशकीय लिगेसीलाई निरन्तरता दिएका छन् वा छैनन् भन्ने कुरा पुस २ गते सिनेमा घरमा पुग्दा थाहा हुन्छ ।

‘चपली हाइट’को तेस्रो सिक्वेलको ट्रेलरले मुख्यतः फिल्मको कथावस्तु के हो भन्ने चीजको स्थापना गर्छ । श्रद्धा नामक युवतीको हत्या कसरी भयो भन्ने रहस्य पत्ता लगाउने संघर्ष यसको कथावस्तु हो । हत्या गरिएकी पात्रकी निकट साथी रहेकी स्वस्तिमालाई पक्राउ गरेर यथार्थ बुझ्न प्रहरीले गरेको केरकार र अर्कोतर्फ नेपथ्यमा अर्पण थापा र आमिर गौतमको चलखेललाई ट्रेलरमा चित्रण गरिएको छ ।

मुख्यतः हत्या घटनामा आरोपित तीनजना फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चालेको अप्रेसन यसको कथावस्तु हो । दीपाश्री निरौला प्रहरी अधिकृतको भूमिकामा देखिएकी छिन् । मुख्यतः अर्पणलाई सिरियल किलरको रुपमा चित्रण गर्न खोजिएको जस्तो देखिन्छ ।

२ मिनेट ३६ सेकेन्ड लामो फिल्मको ट्रेलरमा पात्रको भीड देखिन्छ । ट्रेलरमा एकैपटक धेरै पात्र र सोही गतिमा सम्पादन हुँदा कतिपय दर्शक कन्फ्युजन हुनसक्छन् । तर, मर्डर थ्रीलर रुचाउने दर्शकलाई ट्रेलर मनपर्नसक्छ । किनभने, कतिपय दर्शकको रुचि ‘लाउड’ फिल्म रुचाउने हुन्छ ।

‘चपली हाइट’को तेस्रो सिक्वेलमा स्वस्तिमासहित सुपुष्पा भट्ट कँडेल, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ । आमिर गौतम निर्माता अर्जुन कुमारका लक्की चार्म भैहाले ।

गायक समेत रहेका अर्जुन कुमारको निर्माण रहेको फिल्म पुस २ गते देशव्यापी प्रदर्शन तयारीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *