प्रधानमन्त्री देउवाले शुभारम्भ गरे पतञ्जलीका दुई स्याटेलाइट टेलिभिजन (तस्बिरहरु) – Nepal Press
योगगुरु रामदेव काठमाडौंमा

प्रधानमन्त्री देउवाले शुभारम्भ गरे पतञ्जलीका दुई स्याटेलाइट टेलिभिजन (तस्बिरहरु)

काठमाडौं । पतञ्जली योगपिठले संचालनमा ल्याएको दुईवटा आध्यात्मिक स्याटेलाइट टेलिभिजनको शुभारम्भ भएको छ । योगगुरु रामदेवसहित सत्तारुढ दलका शीर्ष नेताहरुको उपस्थितीमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान राजधानीको मण्डिखटारमा टेलिभिजन उद्घाटन गरे ।

पतञ्जली योगपिठको नयाँ भवनबाट प्रसारण आरम्भ गरेका आस्था टिभी नेपाल र पतञ्जली टिभी नेपालको पूर्ण प्रसारण भने आगामी सातादेखि मात्र हुने भएको छ । यी दुई टिभीबाट सामाजिक सुधार, शिक्षा, सन्देश, जागरण, स्वास्थ्य र अनुसन्धानमूलक कार्यक्रम प्रसारण गरिने भएका छन् ।

प्रत्येक बिहान संचालन हुने रामदेवको योगका कार्यक्रम समेत यी टिभीबाट प्रसारण गरिने भएका छन् । साथै, योग र जडिबुटीसम्बन्धी कार्यक्रम पनि संचालन हुनेछन् ।

उद्घाटन कार्यक्रममा रामदेवसँगै प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल उपस्थित थिए ।

पतञ्जलीले आजैदेखि स्वदेशी समृद्धि कार्डको पनि शुभारम्भ गरेको छ । प्रधानमन्त्री देउवाले यसलाई पनि लन्च गरे । पतञ्जलीको सेवा केन्द्रबाट सामान खरिद गर्दा ५ प्रतिशत छूट मिल्ने र यसमा ५ लाखसम्मको बिमा समावेश हुने जनाइएको छ ।

पतञ्जलीले यसलाई सहुलियत कार्ड पनि भनेको छ । सुरुमा पाँचसय रुपैयाँ ब्यालेन्स हुने र त्यो सकिएपछि सेवा केन्द्रबाट रिचार्ज गर्न मिल्ने भएको छ । उपभोक्ताले देशभरका सेवा केन्द्रबाट सदस्य बनेर यस्तो सुविधा लिन पाउने भएका छन् । उक्त कार्डलाई मेसिन र अनलाइनले रिड गर्न मिल्ने र यस्तो सुविधा पतञ्जली केन्द्रबाट सामान किन्दा मात्र प्राप्त हुने समेत जनाइएको छ ।

रामदेवले नेपाल भ्रमणमा पूर्वप्रधानमन्त्री, मन्त्रीहरु र सामाजिक सेवामा सक्रिय अगुवालाई समेत भेटघाट गर्ने भएका छन् । पतञ्जली योगपिठका प्रवक्ता हरि भण्डारीका अनुसार रामदेवले प्रधानमन्त्री देउवासहित प्रचण्ड र माधवकुमार नेपालसँग पनि भेटघाट गरेका छन् ।

प्रधानमन्त्री देउवाले कार्यक्रममा पतञ्जली योगपिठलाई सरकारले जग्गा उपलब्ध गराउने बताउँदै सघाउने बचन दिए । उनले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन आग्रह गरे ।

माओवादी अध्यक्ष प्रचण्डले पनि रामदेवलाई क्रान्तिकारी भन्दै प्रशंसा गरे । रामदेवले बिहीबार बेलुका खुमलटारस्थित प्रचण्ड निवास पुगेर प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझेका थिए ।

रामदेवले चन्द्रागिरी हिल्समा भोलि बिहान योग सिकाउने र दिउँसो स्याङ्जा प्रस्थान गर्ने कार्यक्रम छ । आचार्य बालकृष्णको गृहजिल्ला पनि भएकाले रामदेवले त्यहाँ पतञ्जलीका गुरुकुलको निरिक्षण गर्ने कार्यक्रम पनि छ ।

तस्बिरहरु : सरोज बैजु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर