यी हुन लुम्बिनीबाट एमाले केन्द्रीय सदस्यका आकांक्षी (सूचीसहित) – Nepal Press

यी हुन लुम्बिनीबाट एमाले केन्द्रीय सदस्यका आकांक्षी (सूचीसहित)

रुपन्देही । नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेशका लागि धेरै आकांक्षी भएपछि नेतृत्वलाई समन्वय गर्न संकट पर्ने भएको छ । एमालेले पदाधिकारीका जसरी पनि सर्वसम्मत गराउने र केन्द्रीय सदस्यमा चुनाव गराउने गरी तयारी गरेको नेताहरु बताउँछन् ।

एमालेको विशेष प्रभाव रहेको मानिने लुम्बिनीमा नयाँ आकांक्षीको संख्या निकै बढिरहेको छ । एमालेबाट छुटिएर गएको नेकपा एसमा निकै कम संख्यामा नेताहरु गएको र माओवादी केन्द्रबाट एमालेमै रहेकाहरुको संख्या पनि बढी भएकाले व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।
लुम्बिनीमा वडा र पालिका अधिवेशनबाट अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् । रुपन्देहीका दुई क्षेत्र, नवलपरासीबाहेक प्रदेशका सबै ठाउँमा पालिका अधिवेशनमा सर्वसम्मत बनाइएको थियो ।

महाधिवेशनमा सहभागी हुन लुम्बिनी प्रदेशबाट २०८ प्रतिनिधि छनोट भइसकेका छन् । एमाले महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । लुम्बिनी प्रदेशबाट अहिले भएका केन्द्रीय सदस्य कायमै रहने सम्भावना बढी देखिएकाले पनि माथिल्लो पदमा जाने ठाउँ करिब करिब बन्द जस्तै भएको छ त्यसैले पनि नयाँ आकांक्षीलाई छिर्न र पुरानालाई आफ्नो प्रतिष्ठा जोगाउन चुनौती बढेको हो ।

लुम्बिनीमा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, गत महाधिवेशनमा उपमहासचिवमा पराजित स्थायी कमिटी सदस्य शंकर पोखरेल, सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, माओवादी केन्द्रबाट आएका नेता टोपबहादुर रायमाझी, मणि थापा, गिरीधारीलाल न्यौपाने, चन्द्र बहादुर खड्का, एमएस शर्मा, दिनेश पन्थी तथा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, प्रदेश अध्यक्ष लिला गिरी, राधा ज्ञवाली, खिमलाल भट्टराई, ठाकुर गैरेलगायतका प्रभावशाली नेताहरु आफै सेट हुनुपर्ने र उनीहरुलाई साथ दिनेहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने भएकाले चुनौती थपिएको हो ।

रुपन्देहीबाट नयाँ केन्द्रीय सदस्यमा एमाले रूपन्देही अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, एमाले लुम्बिनी सचिव भूमिश्वर ढकाल, प्रदेश सांसद तुलसी चौधरी, नेताद्वय बलबहादुर आचार्य, सावित्रा अर्याल, गोमादेवी आचार्य आकांक्षी हुन् ।

एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, अर्का उपमहासचिव घनश्याम भुसाल, छविलाल विश्वकर्माको गृहजिल्ला हो रूपन्देही । आकांक्षी धेरै भएपछि उनीहरूलाई व्यवस्थापन गर्न शीर्ष नेताहरूलाई सकस पर्ने देखिन्छ । अहिले पार्टी महाधिवेशनले रूपन्देहीका एमाले नेता कार्यकर्तालाई छोएको छ ।

रुपन्देहीपछि दाङमा पनि नयाँ केन्द्रीय सदस्यमा जानेहरुको उस्तै लाइन छ । यहाँबाट अहिले केन्द्रीय सदस्य बन्न आधा दर्जन नयाँ आकांक्षी छन् । जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रतिनिधिसभा सदस्य गंगा चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, प्रदेश सांसद सरस्वती गौतम, रेवतीरमण शर्मा घिमिरे, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी, लमही नगरपालिकाका मेयर कूलबहादुर खत्री आकांक्षी रहेका छन् । एमाले उपाध्यक्ष युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलको गृहजिल्ला भएकाले पनि यहाँबाट आकांक्षीहरुलाई व्यवस्थापन गर्न उनीहरुलाई दवाव छ ।

उता कपिलवस्तुबाट पुराना नेता तथा संविधानसभा सदस्य बलराम अधिकारी, संविधानसभा सदस्यद्वय विश्रामप्रसाद थारू, शान्ति देवी चमार, प्रदेशसभा सदस्य विष्णु पन्थी केन्द्रीय सदस्यमा जाने तीब्र इच्छामा छन् । पन्थी पनि नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । यहाँबाट माओवादी छाडेर आएका नेता गिरीधारीलाल न्यौपाने अहिले नेतृत्वमा छन् ।

पश्चिम नवलपरासीबाट पनि केन्द्रीय सदस्यका आकांक्षी बढेका छन् । प्रदेशसभामा संसदीय दलका उपनेता वैजनाथ चौधरी, जिल्ला अध्यक्ष तुलसी पासी, केन्द्रीय स्कूल विभागका सदस्य बद्रीनाथ खनाल, अनेमसंघका केन्द्रीय सचिवालय सदस्य बिमला अर्याल लगायत नेताहरू केन्द्रीय कमिटीमा पुग्ने चाहनाका साथ कार्यकतासँग आन्तरिक रूपमा आफूलाई परिचित गराउँदै गएका छन् । एमाले लुम्बिनीका अनुसार प्युठानका प्रदेश सांसद हरि रिजाल, बाँकेका कविराम थारू, विजया धिताल, बर्दियाबाट श्याम ढकाल, रुकुम पूर्वबाट आशा स्वर्णकारलगायतका नेता केन्द्रमा जान इच्छुक छन् ।

लुम्बिनीबाट एमालेबाट नेकपा एसमा रुपन्देहीका विजय पौडेल, कपिलवस्तुका बेदुराम भुसाल, बाँकेका दलबहादुर सुनार, पाल्पाका सोमप्रसाद पाण्डे, दाङका मेटमणि चौधरी र गुल्मीकी रामकुमारी झाँक्रीबाहेक अन्य नेताहरूले एमाले छाडेका छैनन् । जनप्रतिनिधिहरूले पनि नेकपा समाजवादीलाई खासै रोजेनन् । एमाले विभाजनले लुम्बिनी प्रदेशमा खासै असर नपुगेको दावी एमाले नेताहरुको छ । एमाले लुम्बिनी अध्यक्ष लिला गिरीका अनुसार नेकपा एसमा जानेहरुभन्दा ठूलो समूहमा नेकपा विभाजन भएपछि माओवादीका प्रभावशाली नेताहरू अर्घाखाँचीका टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्का, प्यूठानमा मणि थापा, कपिलवस्तुमा गिरीधारीलाल न्यौपाने, रुपन्देहीमा दधिराम न्यौपाने, अनुप बराल, गुल्मीका दिनेश पन्थी एमालेमा लागेपछि प्रदेशमा एमाले आफूलाई झनै बलियो बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर