विश्व सुन्दरी प्रतिस्पर्धाको लागि मिस नेपालहरु तयार (तस्बिर) – Nepal Press

विश्व सुन्दरी प्रतिस्पर्धाको लागि मिस नेपालहरु तयार (तस्बिर)

काठमाडौं । कोरोना महामारीले रोकिएका ब्यूटी पेजेन्टहरु अब धमाधम हुने तयारीमा छन् । यी प्रतिस्पर्धामा भाग लिन नेपाली सुन्दरीहरु पूर्णरुपमा तयार छन् । कोही भौतिकरुपमै भाग लिन जाने अन्तिम तयारीमा छन् भने कतिपयले भर्चुअल माध्यमबाट प्रतिस्पर्धा गर्नेछन् ।

मिस नेपाल आयोजक द हिडन ट्रेजरले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना ताज विजेताहरु तयार भएको जनाएको छ । अमेरिकाको पुएर्तो रिकोमा डिसेम्बर १६ मा हुने मिस वर्ल्डमा भाग लिन मिस नेपाल नम्रता श्रेष्ठ सप्ताहन्तमा त्यसतर्फ जाँदैछिन् ।

नोभेम्बर तेस्रो साता सुप्रिया श्रेष्ठले फिलिपिन्समा भर्चुअल रुपमा हुने मिस अर्थ प्रतियोगितामा भाग लिनेछिन् । कोरोना महामारीको कारण टोकियोमा पूर्वनिर्धारित मिस इन्टरनेसनल नहुने भएको छ ।

तस्बिरहरु : गौरब पौडेल

यसैवर्षको अगस्ट महीनामा पोल्यान्डको वार्सामा भएको मिस सुप्रान्यासनलमा सिमल कनौजियाले भाग लिइन् । सबैको आँखा यतिबेला विश्व सुन्दरी प्रतियोगितातिर छ । यसपटक मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले मुलुकको प्रतिनिधित्व गर्दैछिन् ।

मिस वर्ल्डमा नेपालको तयारी कस्तो छ ?

उक्त प्रेसमिटमा नम्रताले तयार पारेका दुई भिडिओ प्रस्तुत भयो । पहिलो- उनको परिचयात्मक भिडियो र दोस्रो- ब्युटी विथ पर्पस विधाका लागि उनले धादिङमा निर्माण गरेको झोलुंगे पुलको भिडियो । यी दुबै भिडियोमार्फत नम्रताले प्रशंसा बटुलेकी छिन् ।

५० लाख लगानीमा धादिङमा उनले उक्त विधाका लागि तयार पारेको झोलुंगे पुल यसैसातादेखि प्रयोगमा आएको छ र २० हजार भन्दा बढी बासिन्दा यसबाट लाभान्वित हुनेछन् । ‘अब खोला तर्दा कसैको पनि मृत्यु नहोस् र कसैले पनि ज्यान गुमाउनु नपरोस्’ नम्रताले भनिन् । उनको भिडियो निकै मर्मस्पर्शी छ ।

उपाधि जित्न राम्रो प्रयास गर्ने बताउँदै उनले गिभअप नगर्ने बताइन् । कस्ट्युमदेखि नेपालले पहिलेदेखि जित्दै आएका विधाहरु जित्न पनि प्रयासहरु भैरहेको उनले बताइन् । नेपालले यसअघि मल्टिमिडिया र व्यूटी विथ पर्पस विधामा जित्दै आएको छ ।

मबस्टार एप डाउनलोड गरेर आफूलाई भोट गर्न नम्रताले आग्रह गरेकी छिन् । डिसेम्बरसम्मै नम्रतालाई भोट गर्न सकिनेछ । मल्टिमिडियामा जित्न सके अन्तिम १२ मा प्रवेश गर्ने बाटो खुल्नेछ ।

अर्कोतर्फ, व्यूटी विथ पर्पसमा पनि बाजी पर्ने संकल्प उनको छ । सन् २०१३, २०१८ र २०१९ मा नेपालले यो परियोजना जितिरहेको छ । हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकारले सिंगो नेपाल साथमा रहेको बताउँदै नम्रतालाई ढुक्क साथ अघि बढ्न आग्रह गरे ।

ढुंगेधाराको संरक्षणमा मिस अर्थ सुप्रिया

सुप्रिया श्रेष्ठले फिलिपिन्समा हुने मिस अर्थमा भर्चुअलरुपमा भाग लिनेछिन् । मिस नेपालको कार्यकाल सकिएपनि आफू नेपालको ढुंगेधारा संरक्षणमा क्रियाशिल हुने उनले बताइन् । ढुंगेधारा परम्परागत पानीको स्रोत भएको र पछिल्लो संरक्षण पनि हुन छाडेको भन्दै उनले यसतर्फ लाग्ने बताइन् ।

उनको सामाजिक परियोजनाका लागि रोजिएको काठमाडौं महानगरपालिका-१७ स्थित धोविचौरमा रहेको पुरानो ढुंगेधारा संरक्षणमा उनी अहिले जुटेकी छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर