एमाले नेतृत्व प्रक्षेपण, को कति बलिया ? – Nepal Press

एमाले नेतृत्व प्रक्षेपण, को कति बलिया ?

काठमाडौं । आसन्न नेकपा एमालेको १० औं महाधिवेशनबाट चुनिने केन्द्रीय नेतृत्वबारे चासोसँगै चर्चा बढ्दो छ । पार्टीभित्र नेतृत्वमा पुग्न रस्सकस्सी सुरु भइसकेको छ ।

पदाधिकारी चयनमा निर्वाचन नहुने निश्चितप्रायः छ । अध्यक्षमा केपी शर्मा ओलीलाई टक्करको सामना गर्नु नपर्ने देखिन्छ । अहिलेका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले अध्यक्षका लागि उम्मेदवारी दिने चर्चा भए पनि उनीहरुले प्रष्टसँग मुख खोलेका छैनन् ।

केही दिनअघि एक कार्यक्रममा रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । तर उनले ‘बार्गेनिङ’का लागि मात्र त्यसो भनेको धेरैको अनुमान छ । उनले अध्यक्षको दाबेदारी छाडेको भन्दै वरिष्ठ उपाध्यक्षमा दाबी गर्न सक्छन् । तर, रावल बढीमा उपाध्यक्ष पद जोगाउन चाहन्छन् । त्यसैले अध्यक्षमा ओली निर्विकल्प जस्तै बनेका छन् ।

सकेसम्म अध्यक्ष नै हुने चाहना राखेका ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा चित्त बुझाइसकेका छन् । अहिलेसम्म पोखरेललाई कसैले पनि चुनौती दिने आँट गरेका छैनन् । यद्यपि, सुवास नेम्वाङ पनि ओलीपछिका उत्तराधिकारी हुन चाहन्छन् । तर उनी उपाध्यक्षमै भए पनि चित्त बुझाउने मनस्थितिमा छन् । यसैले वरिष्ठ उपाध्यक्षमा पोखरेल सुनिश्चित जस्तै छन् ।

तुलनात्मक रुपमा महासचिव चयन भने सकसपूर्ण हुने देखिन्छ । अहिलेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल र सुरेन्द्र पाण्डेले महासचिव हुने आश गरिरहेका छन् ।

कम्युनिष्ट पार्टीमा अध्यक्षपछिको महत्वपूर्ण मानिने यो पदका लागि ओलीले पाण्डेलाई भन्दा पौडेल या पोखरेलमध्ये एक रोज्ने सम्भावना धेरै छ ।

विगतदेखि ओली पक्षका पौडेल र पोखरेल दुवैले महासचिवका लागि लबिङ गरिरहेका छन् । अहिले उपमहासचिव, माओवादीसँग एकता भएपछि बनेको नेकपामा महासचिव र संगठनमा पनि बलियो पकड भएका कारण ओलीले महासचिवमा पौडेल नै रोज्ने सम्भावना धेरै छ । पोखरेल पनि ओलीका विश्वासपात्र हुन् । अघिल्लोपल्ट उपमहासचिवमा पराजित उनी यसपटक महासचिव बन्न चाहन्छन् । ओलीले पौडेललाई महासचिव रोजेको खण्डमा पोखरेल पनि विश्वासपात्र भएकाले उपाध्यक्षमा व्यवस्थापन गर्ने सम्भावना पनि छ ।

त्यस्तै चार उपाध्यक्षका लागि ठूलै रस्साकस्सी छ । माओवादीबाट आएका, १० बुँदे सम्झौता गरेर एमालेमै फर्किएका १० भाइ र अरुलाई पनि मिलाउनपर्ने भएकाले उपाध्यक्ष छनोटमा तनाव हुने देखिन्छ ।

वरिष्ठ उपाध्यक्ष र महासचिव छाडेका सुवास नेम्वाङलाई उपाध्यक्ष बनाउनैपर्ने दबाब छ, ओलीलाई । त्यस्तै, सम्झौतापछि एमालेमा फर्किएकी अष्टलक्ष्मी शाक्य र भीम रावल पनि उपाध्यक्षकै लाइनका हुन् ।

शीर्ष नेतृत्वमा महिला पनि समेटिने भएकाले शाक्य उपाध्यक्ष हुने सम्भावना प्रबल छ । १० बुँदेपछि एमालेमा फर्किएका रावललाई ओलीले उपाध्यक्ष दिने सम्भावना भने कम छ ।

त्यस्तै माओवादीबाट आएका रामबहादुर थापा बादल उपाध्यक्ष हुनसक्छन् । संकटको बेलामा आफूलाई साथ दिएकाले ओलीले बादललाई उचित स्थानमा व्यवस्थापन गर्ने देखिन्छ । नवौं महाधिवेशनबाट उपाध्यक्ष भएका युवराज ज्ञवालीलाई पनि ब्याक हटाउन कठिन छ । यद्यपि, उनलाई अनुशासन आयोगतिर व्यवस्थापन गर्ने चर्चा छ । त्यस्तै नेता पृथ्वीसब्बा गुरुङको ध्यान पनि उपाध्यक्षतिरै छ ।

अहिलेका उपहासचिव घनश्यम भुसाल महासचिव बन्न चाहन्छन् । तर रावललाई जस्तै उनीलाई ओलीले महासचिवमा विश्वास गर्ने सम्भावना छैन । अहिलेका सचिव प्रदीप ज्ञवाली पनि ओलीका निकट सहयोगी हुन् । उनी सचिवमा निश्चित भए पनि बढुवा गरेर उपमहासचिव बनाउने सम्भावना धेरै छ ।

त्यस्तै सात सचिवका लागि पनि ठूलै रस्साकस्सी छ । पाँच सचिवबाट बढाएर सात सचिवको व्यवस्था गरे पनि आकांक्षी धेरै भएकाले भाग मिलाउन ओलीलाई मुस्किल पर्ने देखिन्छ ।

योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य सचिवमा दोहोरिन चाहन्छन् । त्यस्तै उपमहासचिव नपाए प्रदीप ज्ञवालीले पनि सचिवमै चित्त बुझाउनुपर्ने छ । शेरबहादुर तामाङ पनि सचिवका बलिया दाबेदार हुन् ।

त्यस्तै माओवादीबाट आएका टोपबहादुर रायमाझी र लेखराज भट्टलाई पनि सचिवमा आटाउनैपर्ने दबाबमा छन्, ओली । पृथ्वीसब्बा उपाध्यक्ष नभए सचिवमै बस्नुपर्ने स्थितिमा छन् ।

पदाधिकारी समावेशी बनाउनुपर्ने भएकाले रघुवीर महासेठ, किरण गुरुङलगायतलाई पनि सचिवमा अघि सार्न सक्छन् ।

४५ सदस्यीय स्थायी कमिटीका लागि थुप्रैको अकांक्षा छ । सचिवमा नपरेकाहरु स्थायी कमिटीमा अटाउन सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर