ओलीको घमण्डअगाडि लम्पसार परेनौँः माधव नेपाल – Nepal Press

ओलीको घमण्डअगाडि लम्पसार परेनौँः माधव नेपाल

कैलाली । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी विभाजन गरेको बताएका छन ।

कैलालीमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीमा सैद्धान्तिक विचलनसँगै घमण्ड पनि बढेकाले आफूहरुले विद्रोह गरेको बताए ।

उनले भने, ‘केपी ओलीमा सैद्धान्तिक बिचलन भयो । बामपन्थी पार्टीसँग मतलव भएन । आफू बलियो हुन दक्षिणपन्थी बाटोमा लाग्नु भयो । उहाँको घमण्ड देखेपछि कि लम्पसार बन्न कि बिद्रोह गर्न विकल्प थियो । हामीले दोस्रो रोज्यौ ।’

नेपालले तत्कालिन समयमा गरिएको १० बुँदे सहमतिलाई नाटकको संज्ञा दिए। आफूहरुसँग वार्ताको नाटक गरिएको उल्लेख गर्दै उनले अदालतलाई प्रभाव पार्न १० बुँदे गरिएको बताए ।

उनले भने, ‘हामीसँग भएको वार्ता नाटक थियो । अदालतलाई प्रभाव पार्न १० बुँदे गरियो । ओलीले सर्वोच्च अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्छ भनेपछि मैले १० बुँदे मानिन ।’

नेपालले अध्यक्ष ओलीले सबैलाई बर्बाद पार्न खोजेको आरोपपनि लगाएका छन ।

उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएर आफूहरुले संविधान जोगाएको दावी पनि गरे । उनले भने, ‘मतदानमा केही साथीले तटस्थ बस्ने निर्णय गरे । हामिले भोट दियौं । त्यो नभएको भए समस्या हुने थियो । अहिले लोकतन्त्र जोगियो । संविधान जोगायो ।’

नेपालले आफ्नो पार्टी पुरानो एमाले जस्तो नभइ नयाँ शैलीको नेकपा एकीकृत समाजवादी बनाउन खोजेको पनि बताएका छन ।

प्रशिक्षण कार्यक्रम भोलि सम्म जारी रहने छ । नेपालले यस अघि प्रदेश पार्टी कार्यालयको उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर