मुगुमा आगलागीबाट ३५ करोड ५५ लाखको क्षति, ८० परिवार विस्थापित – Nepal Press

मुगुमा आगलागीबाट ३५ करोड ५५ लाखको क्षति, ८० परिवार विस्थापित

मुगु । सदरमुकाम गमगढीको तल्लो बजारमा मंगलबार राति भएको आगलागीबाट ३५ करोड ५५ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा अहिलेसम्म ८० परिवार विस्थापित भएको र ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । जसमा २५ घरधनी र ५५ भाडावालाहरू रहेका छन् ।

यस्तै पीडितले दिएको जानकारी अनुसार ३५ करोड ५५ लाख बराबरको सम्पत्ति पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए । उनका अनुसार घरधनीको २१ करोड २५ लाख र भाडावालाको १३ करोड ३० लाख क्षति भएको छ ।
साथै आगलागीमा ८० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारकै निवेदनका आधारमा क्षतिको विवरण संकलन गरेको प्रहरीको भनाइ छ ।

घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा भूमि तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीसहित सात सदस्यीय प्रदेश सरकारको टोलीले राहत सामग्री ल्याएर गमगढीको आगलागी स्थान निरीक्षण गरेको थियो।

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार नगद, तीन वटा कम्मल र भाडामा बस्ने परिवारलाई १० हजार नगदसहित तीन वटा कम्मल राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *