अमेरिकी सहायक विदेशमन्त्री काठमाडौं आइपुगे, भोलि उपसहायक मन्त्री पनि आउँदै – Nepal Press

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौं आइपुगे, भोलि उपसहायक मन्त्री पनि आउँदै

काठमाडौं । काठमाडौंमा भोलिदेखि हुने कूटनीतिक तथा राजनीतिक भेटघाटको पूर्वसन्ध्यामा दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बेलुका नेपाल आइपुगेका छन् । बेलुका ८ बजे कतार एयरवेजको विमानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । माल्दिभ्सको राजधानी मालेदेखि उनी सीधै काठमाडौं आइपुगेका हुन् ।

अमेरिकी राजदूत र्‍यान्डी जे बेरी र नायब शिष्टाचार महापाल रेवतीरमण पौडेलले बेरीलाई स्वागत गरेका थिए । दुईमहिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले भोलि बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । उक्त मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन समेत गर्ने भएका छन् ।

अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको छ ।

बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने तथा उनले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो । “कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ”, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर