लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन अन्त्य – Nepal Press

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

रुपन्देही । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ । भदौ १ गतेबाट सुरु भएको प्रदेशसभाको नवौं अधिवेशन एकदिन पनि पूरा नबसी सकिएको हो । नेकपा एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्दै माओवादी केन्द्रको नेतृत्वमा साउन २८ गते नयाँ सरकार बनेपनि बसेको प्रदेशसभाको बैठक एकदिन पनि बस्न नसकेको हो ।

नेकपा एमालेको अवरोधकाबीच मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत भने लिएका थिए । यस्तै एमालेको अवरोध कायमै रहेका बेला प्रतिस्थापन बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरी पारित गर्ने र केही विद्येयक पारित पनि प्रदेशसभाले गरेको छ ।

प्रतिपक्ष दलको पू्रै अवरोध र बहिस्कारका बीचमा गरिएका सरकार पक्षीय निर्णयहरु कानुन विपरीत भएको एमालेले दावी गर्दै आएको छ । एमालेले सूर्य चुनाव लिएर प्रदेश सभामा जितेका नवलपरासीका अजय शाही र दाङकी विमला वलीले एमाले छाडेपछि कारबाही माग गर्दै सदन रोकेको थियो । तर सत्ता गठबन्धनले शाहीलाई मन्त्री तथा वलीलाई राज्यमन्त्री बनाएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेले कारबाही माग गरेका दुवै सांसदलाई कारबाही गर्ने कानुनी आधार नभएकाले अगाडि बढाउन नसक्ने जनाएपछि एमाले र सभामुखको दुरी बढेको छ । शुक्रबारको प्रदेश सभामा मुख्यमन्त्री कुलप्रसाद केसीले एमालेमै नरहेका सांसदहरुको कारबाही माग गरेर संविधान विपरीत नजान एमालेलाई आग्रह गरेका थिए ।

बुधबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रिपरिषदको सिफारिसमा नवौं अधिवेशनको अन्त्य गरेको प्रवक्ता चिरन्जीवि पौडेलले जानकारी दिएका छन् ।

लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सभा सचिव दुर्लभकुमार पुन सबै माओवादीबाटै पुगेकाले कानुनी प्रकृया पुराउन नसकेको एमालेको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर