६४ पृष्ठको बायोमेट्रिक पासपोर्ट एसियाकै उत्कृष्टमध्येको सरकारको दावी, यस्ता छन् विशेषता – Nepal Press
नेपालमा ई-पासपोर्ट जारी

६४ पृष्ठको बायोमेट्रिक पासपोर्ट एसियाकै उत्कृष्टमध्येको सरकारको दावी, यस्ता छन् विशेषता

परराष्ट्रमन्त्रीले भने : पासपोर्टको सम्मान नागरिकको दायित्व

काठमाडौं । नेपालले आजदेखि औपचारिकरुपमा तेस्रो पुस्ताको ई-पासपोर्ट जारी गरेको छ । डिजिटल एवं बायोमेट्रिक राहदानीको रुपमा चिनिने पासपोर्टको यो तेस्रो पुस्तालाई परराष्ट्रमन्त्री नारायण खड्काले औपचारिकरुपमा वितरण सुरुआत गरे । उनले १०२ वर्षिय इतिहासविद् सत्यमोहन जोशीलाई पासपोर्ट प्रदान गरे ।

पासपोर्ट जारी गर्न सुरु भएपनि सर्वसाधारणले भने डिसेम्बर दोस्रो सातासम्म प्रतीक्षा गर्नुपर्ने भएको छ । राहदानी विभागले केही सातासम्म ई-पासपोर्टलाई सीमितरुपमा वितरण गर्ने भएपनि जरुरी परेकालाई भने एमआरपी पासपोर्ट नै दिइने भएको छ । विभागले केही सातासम्म धैर्य गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ई-पासपोर्ट वितरण कार्यक्रमको थालनी गर्दै परराष्ट्रमन्त्री खड्काले अब पासपोर्टको सम्मान गर्नुपर्ने दायित्व नागरिकको काँधमा आएको बताए । ‘सरकारले अन्तर्राष्ट्रियरुपमै राम्रो मानिएको पासपोर्ट ल्याएको छ । अब यसको सम्मान गर्ने दायित्व नागरिकले लिनुपर्छ’ खड्काले भने, ‘पासपोर्टको सम्मान मुलुकको पनि सम्मान हो ।’

मुलुकका ७७ वटै जिल्ला, ४० वटा नियोग र १८ वटा इलाका प्रशासन कार्यालयबाट निकट भविष्यमै ई-पासपोर्ट वितरण हुने भएको छ । पहिलोपटक ई-पासपोर्ट बुझ्दै शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा पासपोर्ट वितरणको इतिहास स्मरण गरे ।

बायाँबाट पासपोर्ट छपाइको जिम्मा पाएको फ्रान्सेली कम्पनी आइडिमियाका कार्यक्रम व्यवस्थापक एल्भिन चाय, संस्कृतिविद् सत्यमोहन जोशी, परराष्ट्रमन्त्री खड्का, परराष्ट्रसचिव पौड्याल र राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल ।

सो अवसरमा जोशीले आफूसँग भएको पुरानो पासपोर्ट विभागको संग्रहालयमा राख्न भन्दै हस्तान्तरण गरे । राहदानी नेपालको राष्ट्रियताको प्रतीक भएको बताउँदै जोशीले समयानुक्रमअनुसार राहदानी अद्यावधिक गरेकोमा धन्यवाद समेत दिए ।

सो समारोहमा परराष्ट्रमन्त्री डा. खड्काले राहदानी विभागको नयाँ भवनको शुभारम्भ समेत गरे । त्रिपुरेश्वरस्थित सोही भवनबाट राहदानी वितरण हुने भएको छ । यसअघि नारायणहिटीस्थित भवनबाट विभागले राहदानी वितरण गर्दै आएको थियो । विभागको नयाँ भवनमा राहदानी विभागसहित परराष्ट्र अध्ययन प्रतिष्ठान समेत रहने भएको छ ।

अनलाइन आवेदनमार्फत लिन सकिन्छ पासपोर्ट

ई-पासपोर्ट लिन चाहने सर्वसाधारणले अबदेखि लाइनमा बस्नुपर्ने झन्झटको अन्त्य हुने भएको छ । विभागको वेबसाइटमा सर्वसाधारणले मिति र समय बुकिङ गरेर पालो आएपछि विभागबाट पासपोर्ट लिन पाउने भएका छन् । विभागले बुधबार बेलुकादेखि नै आफ्नो वेबसाइटमार्फत अनलाइन आवेदन लिन सुरु गर्ने भएको छ तर, यो डिसेम्बर अन्त्यसम्म मात्र अनलाइन आवेदन लिइने भएको छ ।

एकदिनमै पासपोर्ट चाहनेले पालो आएपछि विभागमा १२ हजार रुपैयाँ तिरेर पाउनेछन् भने जिल्ला प्रशासन कार्यालयमा ५ हजार रुपैयाँ तिरेर पनि १५ दिनमा पासपोर्ट पाउन सकिने भएको छ । केही समयका लागि एमआरपी नारायणहिटीबाटै वितरण हुनेछ भने ई-पासपोर्ट चाहिँ विभागको कार्यालय त्रिपुरेश्वरबाट उपलब्ध हुनेछ ।

विभागका महानिर्देशक डोरनाथ अर्यालले एमआरपी जस्तो प्रक्रियागत झन्झट सेवाग्राहीले विद्युतीय पासपोर्ट निकाल्दा व्योहोर्नुनपर्ने बताए । ‘यसले सेवाग्राहीको ६० देखि ७० प्रतिशत समयलाई बचत गर्छ’ अर्यालले भने, ‘अब सर्वसाधारणले झन्झट व्योहोर्नुपर्दैन । डेट र टाइम बुकिङ गरेर आफ्नो पालोमा लिन सकिन्छ ।’

संस्कृतिविद् सत्यमोहन जोशीलाई विद्युतीय राहदानी प्रदान गर्दै परराष्ट्रमन्त्री नारायण खड्का ।

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट पासपोर्ट (एमआरपी) जारी गरिरहेको थियो । सन् २०१० देखि नेपालले दोस्रो पुस्ताको एमआरपी पासपोर्ट प्रयोगमा ल्याएको थियो । सन् २०१५ सम्म हस्तलिखित राहदानी पूर्णतः विस्थापित भैसकेको थियो । नेपालमा पासपोर्टको इतिहास सुरु भएपछि ई-पासपोर्टको प्रयोेगलाई महत्वपूर्ण उपलब्धी मानिएको छ । अर्कोतर्फ एमआरपीको अवधि सन् २०३१ सम्मै रहने भएकाले त्यतिञ्जेल सोही पासपोर्ट प्रयोग गर्न सकिने पनि सरकारले जनाएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को २५ औं सदस्य बनेपछि नेपालसामु ई-पासपोर्ट लागू गर्नैपर्ने दबाब थियो । तर, यसपटक चाहिँ आइकाओले एमआरपीलाई विस्थापित गर्नुपर्छ भन्ने कुनै निश्चित मिति चाहिँ तोकेको थिएन । सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग ई-पासपोर्ट छपाइका लागि २ अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । तत्कालिन केपी ओली सरकारको पालामा प्रकाशित भएका तीनवटा ठेक्का सम्झौताका सूचना स्थगित समेत भएका थिए ।

पासपोर्ट वितरणको शुभारम्भ कार्यक्रममा आईडीईएमआईए कार्यक्रम व्यवस्थापक एल्भिन चायले पनि आफ्नो कम्पनीले प्रिन्ट गरेको पासपोर्ट विश्वस्तरीय रहेको बताउँदै सुरक्षित, टिकाउ र भरपर्दो रहेको जनाए । कोभिड-१९ महामारीको कारण पनि समयमै पासपोर्ट प्रिन्ट गर्न सकिएको भन्दै उनले खुशि व्यक्त गरे ।

विभागका महानिर्देशक अर्यालका अनुसार ई-पासपोर्टलाई राष्ट्रिय परिचयपत्रसँग पनि कनेक्ट गरिने भएको छ । अहिलेसम्म ४१ लाख जनाले राष्ट्रिय परिचयपत्रको लागि नाम दर्ता गरेको र सबैलाई ई-पासपोर्टमा आबद्ध गराउने प्रक्रिया सुरु गरिने जनाइएको छ ।

परराष्ट्र सचिव भरतराज पौड्यालले ई-पासपोर्टको लागि मन्त्रालयले पञ्जीकरण, इन्टरपोल प्रहरी र अध्यागमन प्रहरीसँग सहकार्य गर्ने बताए । छोटो समयमै उच्च सुरक्षासहितको ई-पासपोर्ट ल्याउन साधनस्रोत सम्पन्न मुलुकलाई पनि कठिन हुने बताउँदै सचिव पौड्यालले नेपालका लागि यो कार्य निकै चुनौतिपूर्ण रहेको अनुभव सुनाए ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको नयाँ भवन । यही भवनबाट ई-पासपोर्ट वितरण हुने भएको छ ।

ई-पासपोर्ट के हो ?

विद्युतीय राहदानी अर्थात बायोमेट्रिक पासपोर्ट भनिने ई-पासपोर्टलाई अहिलेसम्म १२० मुलुकले प्रयोगमा ल्याएका छन् । राहदानी विभागले नेपालमा जारी गरिएको ई-पासपोर्टलाई सुरक्षा, डिजाइन र अन्य विशेषताको कारण एसियामै उत्कृष्टमध्ये रहेको जनाएको छ । आइकाओले ई-पासपोर्टलाई संसारमै सुरक्षित पासपोर्टको रुपमा परिभाषित गरेको छ । यसलाई एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो मानिन्छ ।

ई-पासपोर्टमा मोबाइलमा जस्तै विद्युतीय ‘चिप’ र ‘एन्टेना’को प्रयोग हुन्छ । यसमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक डेटा पनि राखिन्छ । यो पासपोर्टलाई मेसिन र कम्प्युटरले सजिलै रिड गर्न सक्छ । यसको सेक्युरिटी फिचर पनि बलियो हुन्छ । ई-पासपोर्ट प्रयोगमा आएपछि राहदानीको दुरुपयोग रोकिने अपेक्षा सरकारले लिएको छ । एक देशमा अपराध गरेर अर्को देशमा जान खोज्ने अपराधीलाई अध्यागमनमै रोक्न सकिने र इन्टरपोललाई पनि सजिलो हुने आशा लिइएको छ ।

इलेक्ट्रोनिक डेटामा बायोमेट्रिक राखिँदा एउटाको विवरण अर्कोसँग मिल्दैन । नेपालको ई-पासपोर्टमा ६४ वटा पृष्ठ छन् । पहिलेको पासपोर्टमा ३२ पृष्ठ थिए । सरकारले यी पृष्ठहरुमा सम्पदा, संस्कृति, वन्यजन्तु र विभिन्न पर्यटकीय स्थानको तस्बिर अंकित गरेको छ । पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । ६ वटा पासपोर्टको समेत रङ भिन्दाभिन्दै छ । सामान्य र अस्थायी राहदानीको रङ चकलेट रङको छ ।

‘अवश्य पनि नयाँ पासपोर्टले विश्वसामु नेपालको प्रतिष्ठा माथि जान्छ’ कार्यक्रममा विभागका महानिर्देशक अर्यालले भने, ‘हामीले एसियामै उत्कृष्टमध्येको पासपोर्ट जारी गरेका छौं ।’ हेन्ली पासपोर्ट इन्डेक्सको पछिल्लो सूचीमा नेपाली पासपोर्ट अफगानिस्तान, उत्तर कोरियाजस्ता द्वन्द्व ग्रस्त मुलुकहरुसँगै ११० औं स्थानमा थियो । 

तस्बिरहरु : गौरब पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर