कांग्रेस सिन्धुपाल्चोकमा लफडा: विवादले अधिवेशन नै अनिश्चित – Nepal Press

कांग्रेस सिन्धुपाल्चोकमा लफडा: विवादले अधिवेशन नै अनिश्चित

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा नेताहरुबीचको लफाडाले अधिवेशन नै अनिश्चित बनेको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत बिचको खटपटका कारण सिन्धुपाल्चोक वडा, नगर क्षेत्र र जिल्ला अधिवेशन अनिश्चित बनेको हो ।

असोज ५ गते एकै साथ सिन्धुपाल्चोकको १०३ वडामा नै वडा अधिवेशनका लागि निर्वाचन अधिकृत खटाएपनि तीन वडामा विवादका कारण अधिवेशन स्थगित गरिएको थियो । अधिकाशं वडामा त्यही दिन अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको छ । तर सुनकोशी गाउँपालिकाको कालिका, जुगलको गुम्बा र हेलम्बुको इचोकमा वडा अधिवेशन अझै हुन सकेको छैन् ।

अधिवेशन स्थगित भएको वडाहरुमा अधिवेशनका लागि कात्तिक ३० गते मिति तय भएपनि दुइ पक्षको विवादका कारण महाधिवेशन अनिश्चित भएको कांग्रेस नेता हरिशरण श्रेष्ठले बताए । दुई पक्ष विवाद बढ्दै गएपछि शान्ति सुरक्षा नभएको भन्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिले सिन्धुपाल्चोकका लागि खटाएको केन्द्रीय निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले समेत राजीनाम दिएपछि कांग्रेसको विवाद झनै बढेको छ ।

बाँकी रहेको वडामा अधिवेशनका लागि जिल्ला समितिले निर्वाचन अधिकृतहरु तोकेपनि कोही पनि निर्वाचन अधिकृत बाँकी रहेको वडाको अधिवेशन गर्न नगएको स्रोतको दाबी छ । ‘जिल्ला समितिले हामीलाई पठाएको छ, तर गाउँमा जान सक्ने अवस्था छैन, त्यसैले समझदारी नहुदा सम्म हामी अधिवेशन गर्न सक्ने अवस्था छैन’, वडामा खटिएका एक निर्वाचन अधिकृतले भने ।

वडा,गाउँ/नगर, क्षेत्र र जिल्लाको अधिवेशन अनिश्चित भएपछि कांग्रेस जिल्ला समितिले बुधबार विज्ञप्ति प्रकाशित गरेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको कारण अधिवेशन हुन नसकेको आरोप लगाएको छ ।

कांग्रेस जिल्ला सभापति विकास लामाले विज्ञप्ति प्रकाशित गर्दे जिल्लामा अधिवेशन गर्न आएका केन्द्रीय प्रतिनिधिलाई केन्द्रीय सदस्य बस्नेतले दबाब र त्रास सिर्जना गरेर अधिवेशन प्रक्रियामा असहज अवस्था उत्पन्न गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘जिल्ला सभापति विकास लामाले अधिवेशन सम्पन्न गराउनका लागि सबै पक्षसँग निरन्तर संवाद गरेपनि केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले असहयोग र असमझदारीले गर्दा केन्द्रीय प्रतिनिधिले नै जिल्ला छाड्ने अवस्था सिर्जना भयो’, विज्ञप्तिमा भनिएको छ । कांग्रेस सभापति विकास लामाले केन्द्रीय समितिको पहुँचको दुरुपयोग गरेर विगतदेखि नै आफुहरुलाई असहयोग गर्दे आएको र क्रियाशिल सदस्यमा समेत बस्नेताले धाँदली गरेको आरोप लगाएका छन् ।

केन्द्रीय प्रतिनिधिलाई समेत बस्नेतले मंगलबार बेलुकी धम्की दिएपछि सिन्धुपाल्चोकमा अधिवेशन गराउन नसक्ने भन्दै राजीनाम दिएको कांग्रेस सिन्धुपाल्चोकका एक नेताले बताए । केही व्यक्तिलाई पार्टीको केन्द्रीय तहले संरक्षण र प्रोत्साहन दिइ अधिवेशन सम्पन्न गराउन अनेक बाधा र अप्ठ्यारो अवस्था उत्पन्न गराएर सिन्धु कांग्रेस अधिवेशन यतिबेला अन्यौल र निराशको अवस्थामा पु¥याएको जिल्ला सभापति विकास लामाको आरोप छ ।

बस्नेत पक्षधर भन्छ ‘हामीले होइन, उहाँहरुले नै अधिवेशन चाहेनन्’

यता, बस्नेत पक्षका नेताहरुले भने कांग्रेस जिल्ला सभापति विकास लामा सहितको टिमले नै अधिवेशन गराउन नचाहेको बताएको छ ।

बस्नेत पक्षधर कांग्रेस नेता हरिशरण श्रेष्ठ भन्छन् ‘केन्द्रीय सदस्य बस्नेत सुरुदेखि नै अधिवेशन तोकिएको मितिमा नै सम्पन्न गराउन प्रयासरत हुनुहुन्छ । तर जिल्ला समिति ले लफडा गरेर केन्द्रीय अधिवेशन अघि जिल्ला अधिवेशन नै गराउन खोजेको छैन ।’

कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत स्वतः प्रतिनिधि भएपनि बस्नेत वडाबाट निर्वाचित भएर आएका थिए । बस्नेतलाई केन्द्रीय सदस्य बन्नबाट रोक्नका लागि यो खेल सुरु भएको उनको आरोप छ ।

‘केन्द्रीय सदस्य बस्नेतको असहयोग हो भने, अधिवेशन गर्नका लागि जिल्ला समितिले केन्द्रीय सदस्यसँग सरसल्लाह गर्नुपर्छ की पर्देन ?’ श्रेष्ठले प्रश्न गरे ।

कांग्रेस सिन्धुपाल्चोकमा लामो समय देखि संस्थापन पक्ष र इतर पक्ष बिच चरम विवाद रहदै आएको छ । सम्पन्न भएका वडा अधिवेशनहरुमा समेत बस्नेत पक्षधर र जिल्ला सभापति विकास लामा पक्षधर बिच निर्वाचन भएको थियो । संस्थापन पक्षको नेतृत्व केन्द्रीय सदस्य बस्नेतले गर्दे आएका छन् भने रामचन्द्र पौडेल समुहको नेतृत्व जिल्ला सभापति विकास लामा,नेताहरु भुपेन्द्रबहादुर थापाले गर्दे आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर