आज काठमाडौंमा यो वर्षकै बढी चिसो – Nepal Press

आज काठमाडौंमा यो वर्षकै बढी चिसो

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ७.४ डिग्री सेल्सियस मापन गरिएको हो ।

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो। चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । काठमाडौंको अधिकतम तापक्रम २१.८ डिग्री सेल्सियस रहनेछ ।

काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरु हुन्छ। केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने बताइएको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २९.२ डिग्री सेल्सियस रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर