बलिउडमा हेभिवेट भीडन्त निश्चित : ‘लालसिंह चड्डा’ भर्सेस ‘केजीएफ २’ (सूचीसहित) – Nepal Press

बलिउडमा हेभिवेट भीडन्त निश्चित : ‘लालसिंह चड्डा’ भर्सेस ‘केजीएफ २’ (सूचीसहित)

मुम्बइ । कोरोना महामारीपछि पुनः एकपटक फिल्म हलहरुमा ठूला फिल्महरुको भीडन्त सुरु हुँदैछ । बलिउडका ठूला फिल्महरुले प्रदर्शन मिति घोषणा गरेका छन् ।

रिलिजको हतारोमा केही फिल्मको भीडन्त अर्को ठूलो फिल्मसँग हुने निश्चित भएको छ । यस्तोमा आमिर खान स्टारर ‘लालसिंह चड्डा’को भीडन्त १४ अप्रिलमा यशको फिल्म केजीएफ-२ सँग हुनेछ ।

यसबाहेक पनि केही बहुप्रतीक्षित फिल्मको प्रदर्शन मिति तय भएको छ जसको भीडन्त अर्कोसँग हुनेछ । रिलिज डेट जुधेका केही फिल्महरुको यहाँ प्रस्तुत छ :

आरआरआर- राधेश्याम

सन् २०२२ को सुरुआत एसएस राजामौली निर्देशित ‘आरआरआर’को प्रदर्शनसगै हुनेछ । जनवरी ७ मा रिलिज हुने फिल्ममा आलिया भाट, राम चरण, एनटीआरको मुख्य भूमिका हुनेछ ।

१४ जनवरीमा प्रभास र पूजा हेग्डेको फिल्म राधेश्याम रिलिज हुँदैछ । बिग बजेटमा निर्माण भएका यी दुबै फिल्म सात दिनको अन्तरमा प्रदर्शन हुन लागेका हुन् । जसले गर्दा दुबै फिल्मको कमाइमा असर पर्ने अनुमान छ ।

पृथ्वीराज- अट्याक

अक्षयकुमार र जोन अब्राहमका फिल्महरु पृथ्वीराज र अट्याक जनवरीमा एकापसमा भिड्दैछन् । चन्द्रप्रकाश द्धिवेदीको निर्देशनमा बनेको पृथ्वीराज २१ जनवरीमा रिलिज हुँदैछ । लक्ष्यराज आनन्दको फिल्म अट्याक त्यसको तीनदिनपछि मात्र रिलिज हुनेछ । पृथ्वीराजमा अक्षयकुमार, मानुषी छिल्लर, सोनु सूद र संजय दत्त लिडरोलमा छन् । यो फिल्मको स्टारकास्ट अट्याकभन्दा बढी दमदार छ । अट्याकमा जोनसहित ज्याकलिन फर्नान्डिजले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यी दुईको तुलनामा पृथ्वीराजको पल्ला भारी छ ।

बधाइ दो- बिफोर यु डाई

चार जनवरीमा राजकुमार राव र भूमि पेड्नेकरको फिल्म बधाइ दो र पुनितराज शर्मा र काव्या कश्यपको फिल्म बिफोर यु डाइ रिलिज हुँदैछ । स्टारकास्टको हिसाबले हेर्दा बिफोर यु डाइभन्दा बधाइ दोको पल्ला भारी हुनसक्छ ।

गंगुबाइ कठियाबाडी- जयेशभाइ जोरदार

संजयलीला भन्सालीको बहुप्रतीक्षित फिल्म गंगुबाइ कठियाबाडी १८ फेब्रुअरीमा रिलिज हुँदैछ । यसको एकसातापछि रणवीर सिंहको फिल्म जयेशभाइ जोरदार रिलिज हुँदैछ । दुबै फिल्म बजेट र स्टारकास्टको हिसाबले ठीकठाक छन् । यस्तोमा दुबै फिल्मबीच टक्कर हुनसक्छ । एकसाताअघि नै रिलिज हुँदै गंगुबाइलाई केही फाइदा पुग्नसक्छ । गंगुबाइ कठियाबाडीमा आलियासहित सान्तुन महेश्वरी, विजयराज मुख्य भूमिकामा छन् । जयेशभाइ जोरदामा रणवीरसहित शालिनी पान्डे र बोमन इरानी मुख्य भूमिकामा हुनेछन् ।

बच्चन पाण्डे- शमशेरा

अक्षयकुमारको बच्चन पाण्डे र रणवीर कपुरको शमशेरा फेब्रुअरीमा दुई साताको अन्तरमा प्रदर्शन हुनेछन् । बच्चन पाण्डे ४ मार्च र शमशेरा १८ मार्चमा प्रदर्शन हुनेछन् । बच्चन पाण्डेलाई कमाइको लागि दुई साता प्राप्त हुनेछ । शमशेराको व्यापारमा पनि असर पर्ने सम्भावना कम छ ।

भुलभुलैया २ -अनेक

कात्तिक आर्यन, कियारा आडवाणी र तबु स्टारर फिल्म हरर कमेडी फिल्म भुलभुलैया–२ २५ मार्चमा प्रदर्शन हुने तयारीमा छन् । आउने साता आयुष्मान खुरानाको फिल्म अनेक ३१ मार्चमा रिलिज हुँदैछ । आयुष्मान र कात्तिक दुबैका फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेका छन् । तर, दुबै फिल्म आमनेसामने हुँदाखेरी कलेक्सनमा असर पर्न सक्छ ।

लालसिंह चड्डा- केजीएफ च्याप्टर २

आमिर खानको फिल्म लालसिंह चड्डा अब अप्रिल १४ मा रिलिज हुनेछ । यसदिनमा कन्नड स्टारको केजीएफ च्याप्टर २ रिलिज हुँदैछ । केजीएफको पहिलो भागले बक्सअफिसमा राम्रो कमाइ गरेको थियो । यस्तोमा आमिर खानको फिल्ममा असर पुग्न सक्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर