बन्दले कैलालीका चार पालिकामा कांग्रेस अधिवेशन रोकियो – Nepal Press

बन्दले कैलालीका चार पालिकामा कांग्रेस अधिवेशन रोकियो

धनगढी । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दका कारण कैलालीका चार स्थानीय तहमा कांग्रेस अधिवेशन प्रभावित भएको छ ।

महाधिवेशन प्रचारप्रसार समिति कैलालीका संयोजक नृप सुनारका अनुसार विप्लवले गरेको बन्दका कारण धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाको पालिका अधिवेशन रोकिएको हो ।

बन्दका कारण मतदाता तथा उम्मेदवार अधिवेशनस्थलसम्म जान नसक्दा स्थगित गरिएको संयोजक सुनारले बताए । उनका अनुसार चारवटै पालिकामा भोलि बिहान ८ बजेदेखि अधिवेशन सुचारू गर्ने निर्णय भएको छ ।

कैलालीका १३ मध्ये बाँकी ९ पालिकामा भने मंगलबारदेखि नै अधिवेशन सुरू भएको छ । उनका अनुसार कैलाली गोदावरी नगरपालिका, चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा मंगलबारदेखि पालिका अधिवेशन सुरू भएको छ ।

क्रियाशील सदस्यता विवादका कारण निर्धारित मितिमा अधिवेशन हुन नसकेको कैलालीमा २५ कात्तिकदेखि वडा अधिवेशन सुरू भएको थियो । ३० कात्तिकमा पालिका अधिवेशन सम्पन्न गर्दै ३ मंसिरमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तालिका रहेको छ । कैलालीमा ६ मंसिरमा संघीय निर्वाचन क्षेत्र अधिवेशन गर्ने र १० मंसिरमा जिल्ला अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर