बाइडेन र सीबीच तीनघण्टा भर्चुअल वार्ता : चीन र अमेरिकाबीचको तनाव कम गर्ने दुई नेताको विश्वास – Nepal Press

बाइडेन र सीबीच तीनघण्टा भर्चुअल वार्ता : चीन र अमेरिकाबीचको तनाव कम गर्ने दुई नेताको विश्वास

बेइजिङ । दुई ठूला विश्व महाशक्तिहरु अमेरिका र चीनका राष्ट्रपतिले आज बिहान भर्चुअल संवाद गरेका छन् । ताइवान, व्यापार र मानव अधिकारजस्ता मुद्दालाई लिएर दुई मुलुकबीच तनाव बढेको बेला सी जिनपिङ र जो बाइडेनबीच वार्ता भएको हो ।

रोयटर्सका अनुसार वैश्विक द्वन्द्व रोक्न चीन र अमेरिकाले आफ्नो उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा दुबै नेताहरुले जोड दिएका थिए । दुई मुलुकबीचको दुस्मनी खुला द्वन्द्वतर्फ जान नहुने बाइडेनले बताएका थिए ।

दुई नेताबीचको यो वार्ता गत जनवरीमा बाइडेनले कार्यभार सम्हालेपछिको सबैभन्दा महत्वपूर्ण मानिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले वार्ता रचनात्मक र उत्पादक भएको बताए ।

दुबै मुलुकको विचार आदानप्रदानमा उक्त संवाद महत्वपूर्ण रहेको उनको भनाई छ । न्यानो स्वागतसहित सुरु भएको संवादको थालनीमा चिनियाँ राष्ट्रपति सीले बाइडेनलाई ‘पुराना साथीलाई देख्दा खुशि लागेको’ बताएका थिए ।

चिनियाँ राष्ट्रपतिले दुबै मुलुकले भोगिरहेका समस्याहरुको समाधानका लागि दुबै पक्षले संचार सम्पर्क र सहायता बढाउनुपर्ने बताएका थिए । दोषभेमार्फत बोल्दै सीले भने, ‘विश्वका दुई ठूला अर्थतन्त्र र राष्ट्रसंघीय सुरक्षा परिषदका दुई सदस्य राष्ट्र चीन र अमेरिकाले सम्पर्क र सहायतालाई बढाउनु जरुरी छ ।’

रोयटर्सका अनुसार बाइडेनले मानवअधिकार र इन्डो–प्यासेफिकसहितका चासोका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । बाइडेनको पहलमा सुरु भएको वार्ताले दुई मुलुकबीचको तनावलाई केही मत्थर पार्ने विश्वास गरिएको छ ।

दुई नेताले गोप्यरुपमा वार्ता गर्नुअघि ह्वाइट हाउसको रुजभेल्ट कक्षमा विदेश नीति रिर्पोटिङ गर्ने पत्रकारहरुको एक सानो समूहले वार्ताको अवलोकन गरेको थियो । कन्फ्रेन्स कक्षको ठूलो स्क्रिनमा चिनियाँ समकक्षी देखिएपछि राष्ट्रपति बाइडेन मुस्कुराएका थिए ।

बाइडेनले कार्यभार सम्हालेपछि अहिलेसम्म दुई नेताबीच प्रत्यक्ष भेटघाट चाहिँ भएको छैन । यसअघि पनि गत सेप्टेम्बरमा उनीहरुबीच भर्चुअल वार्ता भएको थियो ।

२०० बिलियन डलर बराबरको अमेरिकी उत्पादन र सामाग्री खरिद गर्ने प्रतिबद्धताबाट चीन पछि हटेपछि अमेरिकी अधिकारीहरुले दुई नेताबीको वार्ताबाट ठोस उपलब्धी हासिल हुने अपेक्षा कमै गरेका थिए । आगामी फेब्रुअरीमा हुने बेइजिङ ओलम्पिकमा अमेरिकाले आफ्ना प्रतिनिधि पठाउँछ वा पठाउँदैन भन्नेबारे सोधिएको प्रश्नमा ह्वाइट हाउसले केही बोलेको छैन ।

अभियन्ता र अमेरिकी सांसदहरुले चाहिँ बेइजिङ ओलम्पिककलाई बाहिष्कार गर्नुपर्ने माग गर्दै बाइडेन प्रशासनमाथि दवाव बढाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर