हस्तकला व्यापार मेला मंसिर ३ गतेदेखि हुने – Nepal Press

हस्तकला व्यापार मेला मंसिर ३ गतेदेखि हुने

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको छ । मेला मंसिर ३ गते देखि ५ गतेसम्म्म काठमाडौको बौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिए ।

मेलामा विभिन्न हस्तकलाका विधाका एकसय २० भन्दा बढी स्टल रहने बताइएको छ । विगतका मेलामा हस्तकला बाहेकमा पनि स्टल रहने गरेको यसपटकको मेलामा भने विशुद्ध हस्तकलाका मात्रै स्टल रहने मेला संयोजक शाक्यले बताए । अधिकांश स्टल बुकिङ खुल्ला भएको छ ।

मेलाका मुख्य आकर्षण एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कलाप्रतियोगिताअन्तर्गत परम्परागत–जडाऊ कला (फिलगिरीं), समसामयिक प्राकृतिक रेशा (नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाँघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान रहेको छ ।

शाक्यका अनुसार मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट गर्नेछन्  भने मेला अवलोकनका लागि विभिन्न मुलुकका कुटनीतिक नियोगका प्रमुख, राजदूत तथा उच्च पदस्थ अधिकारीहरुलाई पनि आमन्त्रण गरिएको छ ।

मेलामार्फत हस्तकला क्षेत्रका उद्यमी व्यवसायीले स्वदेशी तथा विदेशी व्यापारीसँग सम्बन्ध स्थापित गरी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न सक्ने छन् । हस्तकलाका वस्तुको उत्पादन, डिजाइन, विकास र वस्तु विविधिकरण प्रोत्साहन मिल्ने, हस्तकलाको क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिबारे जानकारी मेलामा आदान प्रदान हुनेछ ।

स्वदेशमै रोजगारी अभिबृद्धि हुने तथा हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने आयोजकको अपेक्षा रहेको छ । मेलाका झण्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यवसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । साथै, मेलामा प्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई विशेष आकर्षक डोर प्राइजको व्यवस्था समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर