पूर्वन्यायाधीश फोरमले भन्यो- प्रधानन्यायाधीशको वार्ता आह्वान भ्रष्टाचार लुकाउने दुष्प्रयास मात्र (भिडिओ) – Nepal Press

पूर्वन्यायाधीश फोरमले भन्यो- प्रधानन्यायाधीशको वार्ता आह्वान भ्रष्टाचार लुकाउने दुष्प्रयास मात्र (भिडिओ)

'प्रधानन्यायाधीशमाथि महाभियोग लगाऊ'

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायधीश चोलेन्द्र शम्शेरराणबाट वार्ताका लागि गरिएको आह्वानलाई न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास ठहर गरेको छ । यसले न्यायालयको हित नगर्ने भन्दै फोरमले प्रधानन्यायाधीशबाट राणाको बहिर्गमन हुनैपर्ने अडान दोहोर्‍याएको छ ।

प्रधानन्यायाधीश राणाले आज प्रेस विज्ञप्तिमार्फत वार्ताको आह्वान गरेपछि फोरमका तर्फबाट विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरिएको हो । फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशबाट न्यायालयलाई जोगाउन आह्वान गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशहरुको कावु बाहिरको परिस्थितिका कारण न्यायका याचकहरुमा पर्न गएको असुविधाका लागि न्यायिक सुधारको अभियानप्रति धैर्य धारण गर्न अनुरोध गर्दछौं । जिम्मेवार निकाय र पदाधिकारीहरुले यस अभियानको गम्भिरता हृदयांगम गरी शिघ्रातिशिघ्र वर्तमान प्रधानन्यायाधीशवाट न्यायपालिका जोगाउन हामी पुनः आह्वान गर्दछौं ।’

न्यायाधीशको न्यायिक स्वतन्त्रताको प्रत्याभूति हुन नसकेको अवस्थामा मुद्दाको सुनुवाइ आफैंमा स्वच्छ हुन नसक्ने फोरमको ठहर छ । अदालत परिसरमा स्वस्थ न्यायिक वातावरण कायम गर्न नसकेको र मुद्दाको पेशी तोक्ने नैतिक आधार नै गुमाइ संकेको विवादित प्रधानन्यायाधीशले तोकेको पेसी सूचीको आधारमा न्यायाधीशहरूले मुद्दाको सुनुवाइ गर्न नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘हरेक मुद्दाको सुनुवाइ स्वच्छ, निस्पक्ष, विश्वसनीय र शीघ्र हुन पर्दछ । स्वतन्त्रता, निस्पक्षता र स्वच्छताको प्रत्याभूतीका लागि न्यायाधीशहरूले प्रदर्शन गरेको एकता र दृढताको हामी सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर