भारतको मानवअधिकार आयोगले दार्चुला घटनाको अनुसन्धान गर्ने – Nepal Press

भारतको मानवअधिकार आयोगले दार्चुला घटनाको अनुसन्धान गर्ने

दिल्ली । नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनालाई भारतको राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान गर्ने भएको छ ।

नेपालको राष्ट्रिय मानवअधिकार आयोगले गरेको पत्राचारको जवाफ दिँदै भारतीय आयोगले औपचारिकरुपमै उजुरी दर्ता गरेर अनुसन्धानलाई अघि बढाउने जनाएको छ ।

नेपालको आयोगका प्रवक्ता टीकाराम पोखरेलले भारतबाट त्यस्तो जवाफ आएको बताए । गत सेप्टेम्बर १० मा नेपालको आयोगले भारतीय आयोगलाई सहयोग माग्दै पत्राचार गरेको थियो ।

गत साउन २५ गते महाकाली नदी पार गरेर भारतीय भूमि हुँदै सदरमुकाम खलंगा आउने क्रममा रहेका धामी चढेको तुइनलाई भारतीय सीमा सशष्त्र प्रहरी बल (एसएसबी)ले खुस्काइदिँदा उनी महाकालीमा खसेर बेपत्ता भएका थिए ।

यसबारे परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट लेखेर पठाएपनि अहिलेसम्म कुनै जवाफ आएको छैन । नागरिक समाज र मिडियाबाट व्यापक आलोचना भएपछि सरकारले नोट लेखेको थियो ।

घटनाको तेस्रो दिन साउन १७ मा गृह मन्त्रालयद्वारा गठित छानविन समितिले घटनास्थलको अध्ययन गरेपछि गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा एसएसबीलाई दोषी देखाइएको थियो ।

एसएसबीको उपस्थिती र संलग्नतामा घटना भएको भन्दै समितिले दोषीलाई कार्वाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन समेत सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर