कनिष्ठलाई निमित्त महानिरीक्षक तोकिएको भन्दै दुई एआईजी असन्तुष्ट – Nepal Press

कनिष्ठलाई निमित्त महानिरीक्षक तोकिएको भन्दै दुई एआईजी असन्तुष्ट

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) प्रधुम्नकुमार कार्कीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएपछि नेपाल प्रहरीमा असन्तुष्टि देखिएको छ ।

अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारीमा रहेका कार्कीलाई आईजीपी थापाले आफू दुई दिनका लागि भारत जाँदा निमित्तको जिम्मेवारी दिएका थिए ।

प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) डा. आशा सिंहलाई छोडेर प्रशासनतर्फ चारजना एआईजीपी छन् । आईजीपी थापाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) को तेस्रो बरीयतामा रहेका कार्कीलाई निमित्त बनाएका हुन् । बरिष्ठतामा कार्कीभन्दा अगाडि एआईजीपी हरिबहादुर पाल र निरबहादुर शाही छन् । सबैभन्दा बरिष्ठ एआईजीपी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत पाल हुन् ।

पालपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक निरजबहादुर शाही दोस्रो बरियतामा छन् । पाल, शाही र कार्की आईजीपी थापाका व्याची हुन् । पाल यसअघि आइजीपीकै प्रतिस्पर्धी थिए ।

आफूभन्दा कनिष्ठ प्रहरी अधिकारीलाई निमित्तको जिम्मेवारी दिएपछि चार एआईजीपीमध्ये बरियतामा अगाडि रहेका पाल र शाही दुई दिन बिदामा बसेका छन् । प्रहरी महानिरीक्षक थापा भारत भ्रमणमा गएकै दिन विहीबार र शुक्रबार उनीहरू बिदामा बसेका हुन् । पारिवारिक कारण देखाए पनि कनिष्ठलाई निमित्त बनाएको असन्तुष्टिस्वरूप नै उनीहरू बिदामा बसेको स्रोतले बताएको छ ।

एक पूर्वप्रहरी अधिकारीले निमित्तको जिम्मेवारी प्रधुम्नकुमार कार्कीलाई दिनु गलत नभएको टिप्पणी गरे । पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजीपी) हेमन्त मल्लले यो विषयलाई सामान्यरूपमा लिनुपर्ने बताए । प्रहरी प्रधान कार्यालयमा रहेको बरिष्ठ प्रहरी अधिकारीलाई नै निमित्तको जिम्मेवारी दिइनु उपयुक्त हुने मल्लको भनाइ छ ।

उनले भने, ‘आईजीपी थापासँगै पाल, शाही र कार्कीजी एउटै व्याची हो । त्यसैले उहाँहरुमध्ये जसलाई निमित्तको जिम्मेवारी दिए पनि फरक पर्दैन थियो । कार्कीलाई दिनु स्वभाविक हो । यस्ता अभ्यास यसअघि पनि भएका छन् । यो कुनै नौलो कुरा होइन ।’

तर, कार्कीलाई निमित्तको जिम्मेवारी दिएपछि पाल र शाही बिदामा बस्नुले राम्रो सन्देश नगएको उनको भनाइ छ ।

उनले थपे, ‘पाल र शाही कार्कीभन्दा बरिष्ठ भएकोमा द्विविधा छैन् । तर, पालजी महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी लिएर बस्नुभएको छ । शाहीजी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारीमा हुनुहुन्छ । धेरै काम हेडक्वार्टरबाटै हुने भएकाले सबै फाइल बोकेर धाउन सकिँदैन । त्यसैले हेडक्वार्टरमा रहेको बरिष्ठ प्रहरी अधिकारीलाई नै निमित्तको जिम्मेवारी दिनु राम्रो हो ।’

तर, आईजीपी थापाको व्याचीभन्दा पछिल्लो व्याचीलाई निमित्तको जिम्मेवारी दिँदा गलत थिति बस्न सक्ने उनको भनाइ छ ।
उनले भने, ‘यदि विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई जिम्मेवारी दिइएको भए त्यतिबेला चित्त दुखाउनु स्वभाविक हुन्थ्यो जस्तो मलाई लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर