‘कबड्डी’ सुटिङ चल्दै गर्दा हिमपहिरो खस्यो, भागदौडमा कलाकारसमेत घाइते – Nepal Press

‘कबड्डी’ सुटिङ चल्दै गर्दा हिमपहिरो खस्यो, भागदौडमा कलाकारसमेत घाइते

काठमाडौं । अहिले मुस्ताङको नाउरीकोटमा ‘कबड्डी-४’ फिल्मको छायांकन भैरहेको छ । फिल्मको मुख्य सेटिङ पनि यही वरपरको क्षेत्र हो । एक महीनादेखि अहिले टुकुचे, लार्जुङ र नाउरीकोटमा फिल्म सुटिङ भैरहेको छ ।

आइतबार पनि नाउरीकोटको लार्जुङ थकाली होटलमा एक्सन-क्ट भैरहेको थियो । वीके छन्त्याल र रेखा पात्रबीचको दृश्य सुटिङ भैरहेको थियो । दिउँसो साढे १० बजे नाउरीकोटको शिरानमा रहेको मानापाथी हिमालबाट हिमपहिरो खसेपछि माहौल अत्यासलाग्दो भयो ।

ठूलै पहिरो खस्न थालेपछि चल्दै गरेको सुटिङ रोकेर कास्ट एन्ड क्रिउले हिमपहिरो खस्दै गरेको दृश्य खिच्न थाले । आइतबार फिल्म सुटिङ रोकेर अपरान्हमात्र त्रासको मनोविज्ञानमा त्यसलाई निरन्तरता दिइएको थियो ।

‘बिहानैदेखि सानोतिनो हिमपहिरो खसिरहेको थियो । हामीले वास्ता गरिरहेका थिएनौं । तर, साढे १० बजेतिर एक्कासी ठूलो पहिरो खसेपछि भने हामी झसंग भयौं । माहौल अत्यासलाग्दो भयो । केही पर रहेको स्कुलका शिक्षक र विद्यार्थी भाग्न थाले’ त्यहाँको दृश्यको वर्णन गर्दै अभिनेता विजय बरालले नेपाल प्रेसलाई भने ।

‘माहौल अत्यासलाग्दो भएपछि सुटिङ रोकियो । हामी बसेको लार्जुङ थकाली होटलसम्म हिमपहिरोको मुस्लो आइपुगेको थियो । केही दिन पहिलो मात्र हामीले हिमपहिरो खसेको ठाउँमै सुटिङ सकेका थियौ । त्यहाँ सकेर हामी होटलतिर आइपुगेका थियौं । यतिबेला विके छन्त्याल र रेखाको सिन खिच्ने काम भैरहेको थियो’ उनले भने ।

निर्माता मणिराम पोखरेलले पनि त्रासमा फिल्म छायांकन गर्नुपरेको बताए । ‘सो दिन आधा दिनको सुटिङ त्रासको माहौलमा भयो । केही दिनअघि मात्र हामै्र फिल्ममा अभिनय गर्नुभएका स्थानीय स्कुलका विद्यार्थी पनि भागदौडमा घाइते हुनुभएको छ । त्यो देख्दा हामीलाई दुःख लागेको छ’ पोखरेलले नेपाल प्रेसलाई भने, ‘कैंयन घाइते हुनुभयो, धेरै चौंरी पुरिए । निकै दुःख लाग्दो स्थिती रह्यो ।’

फिल्मको सिनेम्याटोग्राफरले हाइ रिजोलुसन क्यामेराबाटै हिमपहिरोको दृश्य खिचेर सुरक्षित राखेको र फिल्मको मेकिङ अथवा फिल्मभित्रै पनि त्यो दृश्य राख्न सकिने जानकारी निर्माता पोखरेलले जनाए ।

अझै १० त्यहाँ रहेर कबड्डी फिल्मको छायांकन हुनेछ । अहिले कास्ट एन्ड क्रिउसहित २ दुईदर्जन भन्दा बढी कबड्डी टोली मुस्ताङमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर