मापदण्ड नपुगेपछि लुम्बिनीका १६ वटा नर्सिङ कलेजले पीसीएल लेभल पढाउन नपाउने – Nepal Press

मापदण्ड नपुगेपछि लुम्बिनीका १६ वटा नर्सिङ कलेजले पीसीएल लेभल पढाउन नपाउने

रुपन्देही । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कडाइ गरेपछि लुम्बिनी प्रदेशका १६ वटा नर्सिङ कलेजले यसवर्षदेखि प्रमाणपत्र तहको नर्सिङ कक्षा पढाउन नपाउने भएका छन् ।

१०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णयका कारण अध्यापनका लागि यी कलेजका मापदण्ड नपुगेको हो । अहिले माथिल्लो कक्षा संचालन गरेका मेडिकल कलेजले पनि प्रमाणपत्र तहको कक्षा संचालन गर्न नपाउने कानून बनेको छ ।

लुम्बिनी प्रदेशमा संचालितमध्ये बाँकेमा रहेको नेपाल मेडिकल कलेजमा मात्र यो मापदण्ड पूरा भएको बताइएको छ । परिषद्का अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिए ।

१०० शय्या अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ । ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताएका छन् । परिषद् तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन् । ती २४ वटा कलेजमध्ये १७ वटा निजी हुन् भने सातवटा आंगिक कलेज हुन् ।

रुपन्देहीमा एड्भान्स स्टडिज अफ हेल्थ साइन्स चलाएका कमल भण्डारीले सरकारमा रहेकाहरूले आफूखुसी नियम बनाउँदा आमविद्यार्थीलाई समस्या आउने बताए । ‘पहिले सम्बन्धन दिँदा ५० शय्याको आफ्नै वा सहमतिमा भए पनि अस्पताल चाहिने बनाएर दिने अहिले नियम बदलेर लाखौंको लगानीमा रहेका कलेजलाई धराशायी बनाएर विदेश पढ्न पठाउने रणनीति बन्दैछ’, भण्डारीले भने ।

फोरम फर हेल्थ एण्ड टेक्निकलका लुम्बिनी प्रदेश संयोजक प्रकाश रानाले सरकारमा सहभागी हुने विभागीय मन्त्री तथा केही ठूला कर्मचारीको मिलेमतोमा कलेज संचालकलाई हतोत्सायी बनाउन खोजिएको बताए ।

‘मैले पनि सुनेको छु, आधिकारिक सूचना आएको छैन तर हामीलाई सम्बन्धन दिँदा के आधारमा दिइयो र अहिले रोक्ने ? अहिलेको आवश्यकता हो वा होइन भनेर अध्ययन नहुँदै बीचमा रोक्न कसरी पाइन्छ ?’ , रानाले प्रश्न गरे ।

रुपन्देहीमा संचालित एड्भान्स स्टडिज अफ हेल्थ साइन्स, देउराली जनता प्राविधिक शिक्षालय, लुम्बिनी इन्स्टिच्यूट अफ टेक्निकल साइन्स, मायादेवी टेक्निकल कलेज, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज, सिद्धार्थ मेडिकल इन्स्टिच्युट, एसएसपी मेडिटेक नर्सिङ कलेज, युनिक कलेज अफ मेडिकल साइन्स एन्ड हस्पिटलले यो मापदण्ड पूरा गरेका छैनन् ।

लुम्बिनी प्रदेशमा संचालित एक मात्र बाँकेको नेपाल मेडिकल कलेजले मापदण्ड पूरा गरेकाले अन्य सबै अन्योलमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर