कांग्रेस महाधिवेशन- नीति न थिति, सोझै मतदान – Nepal Press

कांग्रेस महाधिवेशन- नीति न थिति, सोझै मतदान

काठमाडौं । ‘केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हुनेछ,’ नेपाली कांग्रेसको विधानको परिच्छेद ६ को दफा १५ मा लेखिएको छ । पार्टीको सर्वोच्च अधिकार सम्पन्न भएपनि यसपटक कांग्रेस महाधिवेशन ‘निरिह’ हुनेछ । किनकि कांग्रेसको नीति वा विधानबारे महाधिवेशनले कुनै निर्णय लिने छैन ।

विधान र संविधानले दिएको अवधीभन्दा बढी समय सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले गुजारेपछि पार्टीको आधिकारीकता जोगाउन कांग्रेस संघर्षरत छ । यहीकारण महाधिवेशनको सौन्दर्यका रुपमा रहने नीति र विधिको बहस छाडेर कांग्रेस नेतृत्व चयनको प्रतिस्पर्धामा मात्रै केन्द्रित भएको छ ।

अघिल्लो पटक स्थगन हुँदा कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म अर्थात ५ दिनका लागि तोकिएको थियो । यसपटक मंसिर २४, २५ र २६ गतेका लागि तोकिएको छ । महाधिवेशमा पार्टीको विधान, पार्टीले लिनुपर्ने नीति र कार्यक्रमहरुबारे कुनै छलफल नहुने भएकाले कांग्रेसले महाधिवेशन ३ दिनमै छोट्याएको हो ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आव्हान गर्ने समयभित्र पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्ने बाध्यताका कारण कांग्रेस महाधिवेशनमा नयाँ केन्द्रीय समिति चयन बाहेकका कार्यसूची राखिएको छैन ।

‘यो महाधिवेशनमा नीति पनि नहुने भो, थिति पनि नहुने भो । लाइनमा उभिने भोट माग्ने, महाधिवेशन सक्किगो’, केन्द्रीय समिति बैठकपछि एक सदस्यले ठट्टा गर्दै भने ।

विधानकै व्यवस्था अनुसार महाधिवेशन

विगतमा नीति र नेतृत्व चयनका लागि कांग्रेसको महाधिवेशन हुँदै आएको थियो । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव तथा पार्टीको नीति तथा कार्यक्रम महाधिवेशनबाट पारित हुने प्रचलन थियो ।

यसपटक भने कांग्रेसले विधानको दफा १७ को उपदफा ५ को लाभ लिँदै नेतृत्व चयनका लागि मात्रै महाधिवेशन गर्न लागेको हो । विधान र नीति पारित गर्न नयाँ केन्द्रीय समितिले अर्को महाधिवेशन गर्ने कांग्रेस नेताहरुले जनाएका छन् ।

कांग्रेसको विधानमा ‘महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्न र नीति निर्माण तथा विधान पारित गर्न फरक फरक समयमा महाधिवेशन गर्न सकिनेछ । सोका लागि पार्टी केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय लिने’, उल्लेख छ । सोही प्रावधान अनुसार यसपटक महाधिवेशनमा उद्घाटनलगत्तै निर्वाचन गर्न लागिएको हो ।

२५ गते निर्वाचन हुने

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते उद्घाटन हुनेछ । निर्वाचन समितिले भने मंसिर २१ गतेदेखि नै निर्वाचन कार्यक्रम सुरु गरेको हुन्छ । केन्द्रीय निर्वाचन समितिले मंसिर २१ गते मतदाता नामावली अर्थात महाधिवेशन प्रतिनिधिहरुको सूची सार्वजनिक गर्नेछ । त्यसउपर दावी विरोधका लागि मंसिर २२ गतेसम्मको समय दिएर २३ गते केन्द्रीय समितिको सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गराइनेछ ।

मंसिर २४ गते महाधिवेशन उद्घाटन र उम्मेदवारको अन्तिम सूची प्रकाशन गरी मंसिर २५ गते मतदान गराउने गरी काम अगाडि बढाइएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको नेतृत्व लिन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, नेता डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति पदमा दावी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर