रूपैठा घटनामा राजेन्द्र महतोले भने- वार्ता र सम्वादबाट समस्या समाधान गरौं – Nepal Press

रूपैठा घटनामा राजेन्द्र महतोले भने- वार्ता र सम्वादबाट समस्या समाधान गरौं

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बरिष्ठ नेता राजेन्द्र महतोले छठ घाट निर्माणको विषयमा जनकपुरधाम उपमहानगरपालिका २० मा उत्पन्न विवाद वार्ता र सम्वादमार्फत समाधान गर्न समुदायसँग अपिल गरेका छन् ।

छठ घाट निर्माणमा मुस्लिम समुदायले अवरोध गरेपछि हिन्दु–मुस्लिमबीच कार्तिक २३ गते विवाद भएको थियो । छठका दिन दुबै पक्षबीच झडप नै भयो । त्यसपछि बढ्दै गएको तनाबका बीच शनिबार हिन्दुबादीहरूले शक्ति प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले शनिबार दिउँसो २ बजेदेखि आज राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् । अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालित छन् ।

घटना उग्ररुप लिन थालेपछि धनुषा क्षेत्र नम्बर ३ का साँसदसमेत रहेका नेता महतोले विज्ञप्ति जारी गरेर दुवै समुदायलाई धैर्यता अपनार्ई वार्ता र संवादको माध्यमले समाधान खोज्न आग्रह गरेका छन् ।
दुई समुदायबीच उत्पन्न भएको विवाद र वैमनस्यताले समाजिक सद्भाव खल्बलिने गरी विवाद सिर्जना हुँदा आफूलाई चिन्ता लागेको नेता महतोले बताए ।

‘दुई समुदायबीच आपसी समाजिक सहोद्रता पौराणिक कालदेखि नै रहँदै आएकाले वार्ता र सम्बाद मार्फत समस्या समाधान गर्न स्थानीय जनसमुदायलाई अपिल गर्दछु’, उनले भनेका छन् । त्यहाँको गतिविधिबारे स्थानीय प्रशासनसँग नियमित संवादमा रहेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर