पौडेलको ‘गढ’ भत्काउन देउवा समूहको उम्मेदारी घोषणा – Nepal Press

पौडेलको ‘गढ’ भत्काउन देउवा समूहको उम्मेदारी घोषणा

रुपन्देही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको बलियो क्षेत्र मानिएको रुपन्देहीको क्षेत्र नं २ मा संस्थापन पक्षबाट उम्मेदारी घोषणा भएको छ ।

आसन्न १४ औं महाधिवेशन अन्तरगत निर्वाचन कार्यतालिका नजिकिँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा समूहले रुपन्देहीको क्षेत्र नं. २ मा उम्मेदवारी घोषणा गरेको हो ।

यसअघि यही क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिकाको सभापतिमा पौडेल समूहका खेलराज पाण्डेले देउवा समूहका रिता केसीलाई तेब्बर मतान्तरले पराजित गरेका थिए ।

संस्थापन समूहले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आगामी मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय समिति र ६ गते प्रतिनिधि सभा क्षेत्रीय समितिको निर्वाचन हुँदैछ ।

अधिवेशनबाट नेतृत्व लिनको लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा समूहबाट रुपन्देही २ मा प्रतिनिधि सभा क्षेत्रीय सभापतिमा काजीमान श्रेष्ठ र प्रदेश सभा ‘क’ मा माधवलाल देवकोटा तथा प्रदेश सभा ‘ख’ मा रामेश्वर श्रेष्ठले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टी बिधानअनुसार प्रदेश सभा क्षेत्रीय समितिका सभापति प्रतिनिधि सभा क्षेत्रीय समितिमा स्वतः उपसभापति हुने व्यवस्था छ । उक्त समूहले प्रतिनिधि सभा क्षेत्रीय सचिवमा प्रजापाल गिरी र रामबहादुर थापा, सहसचिवमा आनन्दभगत श्रेष्ठ र सीता क्षेत्रीलाई अगाडि सारेको छ ।

प्रदेश सभा क्षेत्रीय समिति ‘क’ को उपसभापतिमा राजु गुरुङ र सीता गौतम खनाल, सचिवमा देवप्रसाद खनाल र असिम थापा तथा सहसचिवमा भेषराज पोखरेल र धनकुमारी खनाललाई अगाडि सारिएको छ । त्यस्तै प्रदेश सभा क्षेत्रीय समिति ‘ख’ को उपसभापतिमा सर्वजित केसी र प्रेमबहादुर बानिया, सचिवमा मीना जिसी र नारायण अधिकारी तथा सहसचिवमा नारायण खनाल र काशिराम शर्मा पौडललाई अगाडि सारिएको उम्मेदवारी घोषणा गर्दै महासमिति सदस्य युवराज गिरीले जानकारी दिएका छन् ।

उम्मेदवारी घोषणा गर्दै महासमिति सदस्य गिरीले पार्टी सभापति शेरबहादुर देउवाको समर्थन र सहयोगको लागि आफूहरुको टिम बनेको बताएका थिए । आफूहरुको टिमले जितेमा अधिवेशनमा प्रतिस्पर्धा गरेका साथीहरुलाई पनि उत्तिकै सम्मान गरिने प्रतिवद्धता उनले व्यक्त गरेका थिए ।

त्यस अवसरमा क्षेत्रीय सभापतिका उम्मेदवार काजिमान श्रेष्ठ, प्रदेशसभा क्षेत्रीय सभापतिका उम्मेदवारद्वय माधवलाल देवकोटा, रामेश्वर श्रेष्ठ, क्षेत्रीय सचिव पदका उम्मेदवार प्रजापाल गिरीले पार्टीलाई सशक्त र गतिशिल बनाउन आफूहरुको उम्मेदवारी रहेको बताउनु भयो ।

घोषणासभामा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, पूर्वक्षेत्रीय सभापति हरिबहादुर आचार्यलगायतले शुभकामना दिएका थिए । पौडेल समूहबाट यसअघिका सभापति हरि लम्साल नै दोहोरिने सम्भावना बलियो रहेको छ । रुपन्देहीका अन्य क्षेत्रमा देउवा समूह बलियो भए पनि २ नं क्षेत्रमा पौडेल समूह बलियो रहेको कांग्रेस नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर