अमेरिकी सहायक विदेशमन्त्री बुधबार काठमाडौं आउँदै, प्रधानमन्त्री देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने – Nepal Press

अमेरिकी सहायक विदेशमन्त्री बुधबार काठमाडौं आउँदै, प्रधानमन्त्री देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने

काठमाडौं । दक्षिण तथा मध्य-एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आगामी बुधबार नेपाल भ्रमणमा आउने भएका छन् ।

अमेरिकी स्टेट डिपार्टमेन्टले आज एक विज्ञप्ति जारी गर्दै सहायक मन्त्री लू नोभेम्बर १७ मा काठमाडौ आउन लागेको जनाएको हो ।

काठमाडौंमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका अन्य शीर्षस्थ नेताहरुलाई भेट्ने समेत उल्लेख छ । नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने उनले त्यहाँ विदेशमन्त्री अहमद खलिललाई भेट्ने भएका छन् ।

मालेको भ्रमण पुरा गरी उनी त्यहाँबाट काठमाडौं आउन लागेका हुन् । अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन हुन नसकेको र दलहरुबीच मतैक्य हुन नसकिरहेको बेला अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई नेपाल पठाउन लागेको हो ।

साथै, सहायक मन्त्री लूको काठमाडौं भ्रमणको क्रममा नेपालमा संचालित अमेरिकी परियोजनाहरुबारे समेत द्धिपक्षीय छलफल हुने जनाइएको छ ।

नोभेम्बर १८ मै भारतको सत्तारुढ बीजेपी नेता एवं रेल तथा परिवहन मन्त्री नीतिन गड्करी पनि काठमाडौं आउने कार्यक्रम छ । नेपाल भ्रमणमा पनि गड्करीले प्रधानमन्त्री देउवासहितका शीर्ष नेताहरुलाई भेट्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर