अम्पायर्स तथा स्कोरर संघको अध्यक्षमा सत्यजित निर्वाचित – Nepal Press

अम्पायर्स तथा स्कोरर संघको अध्यक्षमा सत्यजित निर्वाचित

रुपन्देही । नेपाल अम्पायर्स तथा स्कोरर संघको अध्यक्षमा म्याच रेफ्री सत्यजित सरकार निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न संघको पहिलो महाधिवेशनबाट आगामी चार वर्षे कार्यकालका लागि सरकार अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले प्रतिद्वन्द्वी मोहम्मद सफिक (समिर खाँन)लाई २२ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । सरकारले ४४ मत पाउँदा उनका प्रतिस्पर्धी खाँनले २२ मत मात्रै प्राप्त गरे । अध्यक्ष प्रतिस्पर्धी दुवैजना रुपन्देहीको भैरहवा निवासी हुन् ।

२२ वर्षदेखि अन्तर्राष्ट्रिय अम्पायर भएर काम गर्दै आउका सरकार केही समयअघि मात्रै म्या रेफ्री बनेका थिए । उनले दर्जनौं मुलुकमा पुगेर अम्पायरको काम गरेका छन् । यस्तै, संघको उपाध्यक्षमा ४३ मतसहित लक्ष्मणनाथ योगी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेवलाल कर्णले २३ मत प्राप्त गरे ।

सचिवमा ३४ मत प्राप्त गरी मनोहर अधिकारी निर्वाचित भए । उनका प्रतिस्पर्धी मेहबुब रेजा राईनले ३२ मत प्राप्त गरे । कोषाध्यक्षमा हिमालराज गिरी सर्वसम्मत निर्वाचित भए । तीन पदमा निर्वाचन भए पनि अन्य पदमा भने सर्वसम्मत भएको थियो ।

निर्वाचन समितिका अनुसार संघको सदस्यहरुमा मागिलाल शर्मा, निरजकुमार सिंह, सुरजरत्न शाक्य, संजयकान्त सिग्देल, मञ्जुल भट्टराई, महेश बोहरा चयन भएका छन् । यस्तै, महिला सदस्यमा सुनिता नेपाली चयन भएकी छन् । अध्यक्षमा निर्वाचित सरकारले आफ्नो कार्यकालमा अम्पायर र स्कोररलाई पनि नियमित पारिश्रमिक, भत्ता लगायत उपलब्ध गराउन पहल गर्ने बताए ।

‘नेपाल क्रिकेट संघले खेलाडी र अम्पायर तथा स्कोररहरुबीच विभेद गरेको छ’, उनले भने, ‘मेरो कार्यकालमा विभेद हटाएर अम्पायर र स्कोररलाई पनि खेलाडी बराबर सेवासुविधा उपलब्ध गराउन पहल गर्नेछु ।’ उनले कयौं खेलमा अम्पायरलाई युनिफर्म नदिने, आफूखुशी अम्पायर्स छनौट गर्ने गरेको भन्दै यसलाई व्यवस्थित गरी अगाडि बढाउन आफूले भूमिका खेल्ने जनाए ।

देशभरका अम्पायर र स्कोररलाई गोलबद्ध गर्ने उद्देश्यसहित यसअघि तदर्थ समिति गठन गरिएको थियो । यसलाई आधिकारिता दिँदै संघले पहिलोपल्ट अधिवेशन गरेको हो । संघमा मुलुकभर गरी ७० जना अम्पायर्स तथा स्कोरर आबद्ध छन् । निर्वाचनमा कुल मतमध्ये ६६ मत खसेको निर्वाचन अधिकृत कुलमणि ज्ञवालीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर