डुलेरै बित्यो मन्त्रीविनाका मुख्यमन्त्रीको १२ दिन – Nepal Press

डुलेरै बित्यो मन्त्रीविनाका मुख्यमन्त्रीको १२ दिन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनियताको सपथ ग्रहण गरेको १२ दिन भयो । उनले यो अवधिमा न मन्त्रीमण्डल विस्तार गर्न सके न देखिने खालको कुनै काम नै गरेका छन् ।

८ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले अहिले एक्लै सबै मन्त्रालय धानिरहेका छन् । सत्तारुढ दल नेकपा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालासँग मुख्यमन्त्रीको सपथ लिएको दिनदेखि नै जीवन शाहीको कुराकानीसम्म हुन सकेको छैन । जसकारण मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

निवर्तमान मुख्यमन्त्री शाही काठमाडौंमा मोबाइलल अफ गरेर बसेका छन् भने प्रकाश ज्वाला पार्टीका कार्यक्रममा व्यस्त छन् । यस्तो अवस्थामा मुख्यमन्त्री शाहीले १२ दिन डुलेरै बिताए ।

कसरी बिते १२ दिन ?

कात्तिक १६ गते मुख्यमन्त्रीको सपथ खाइसकेपछि उनी दिनभरजसो बधाई खानमै व्यस्त भए । उनी निकटका पत्रकार, कांग्रैसका नेतादेखि मुख्यमन्त्री शाहीका शुभचिन्तकको ओइरो लाग्यो । बधाई थापिनसक्नु भयो ।

कात्तिक १७ गते मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बधाइ दिए । २० गते तिहारको भाइटीका थियो । उनले आफ्नी बहिनी अन्जना शाहीको हातबाट फूलमाला पहिरिए ।

मुख्यमन्त्री भएको पाँचौ दिनमा उनी बधाई थाप्न हेलिकप्टर लिएर हुम्ला उडे । हुम्ला उनको गृहजिल्ला पनि हो । उनी एक रात त्यहाँ बसेर भोलिपल्ट मात्रै फर्किए । उनी आफ्नो गृह पालिका खार्पुनाथ समेत पुग्न भ्याए ।

विगतमा मुख्यमन्त्री शाहीले हेलिकप्टर चढेको भन्दै उनले विरोध गरेका थिए ।

त्यसपछि मुख्यमन्त्री शाही वीरेन्द्रनगरमा बनिरहेको शहिद पार्कको अवलोकनमा गए । त्यहाँ गएर उनले प्रहरी विट स्थापना गर्न निर्देशन दिए ।

उनको निर्देशनबमोजिम त्यहाँ प्रहरी विट पनि स्थापना भयो । त्यसपछि उनी यातायात कार्यालयमा छड्के हान्न पुगे । त्यहाँ नागरिकका धेरै गुनासो आएको भन्दै विचौलियाका पसल हटाउन निर्देशन दिए तर उनको सो निर्देशनपछि यातायात कार्यालयमा सर्भरले काम गरेन भन्दै त्यहाँ कर्मचारीले काममा ढिलासुस्ती देखाए ।

पछिल्लो समयमा मुख्यमन्त्री शाही विभिन्न विकासे आयोजनाको स्थलगत अध्ययन गर्ने, अवलोकन गर्नेदेखि मन्त्रालयमा बसेर ज्ञापन पत्र बुझ्ने काममा व्यस्त छन् ।

प्रमुख सत्तारुढ दलसँग मुख्यमन्त्री भएकै दिनदेखि उनको दूरी बढेको बढ्यै छ । अबको १८ दिनमा उनले कर्णाली प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । जुन उनका लागि चुनौतीपूर्ण छ ।


प्रतिक्रिया

One thought on “डुलेरै बित्यो मन्त्रीविनाका मुख्यमन्त्रीको १२ दिन

  1. परमादेशको कमाल । चोर्दा मिले पनि वाढ्ने बेलामा नमिल्ने कुरा पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर