उद्योगीलाई कुलमानको आश्वासन : ट्रंकलाइन समस्या छिटै समाधान हुन्छ – Nepal Press

उद्योगीलाई कुलमानको आश्वासन : ट्रंकलाइन समस्या छिटै समाधान हुन्छ

रूपन्देही । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूलाई परेको ट्रंक लाइनको समस्या छिटो समाधान हुने बताएका छन् ।

शनिबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ट्रिपिङ समस्याको अन्त्य गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने बताएका छन् ।

विद्युत् प्रसारण लाइन तथा सव स्टेशनहरुको समस्याका कारण अहिले देखिएको विद्युत् ट्रिपिङलाई छिट्टै अन्त्य गरिने घिसिङको भनाई छ ।

उनले बन्न लागेका सवस्टेशन सम्पन्न भएलगत्तै प्रसारण लाइनहरुको समेत स्तरोन्नति गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउँदै प्रयोगमा प्रोत्साहन गरिने उल्लेख गरे ।

उत्पादन भएका विद्युत्लाई सकेसम्म नेपालभित्रै उपभोग गर्ने रणनीति अनुसार उद्योगहरुले मागेजति विद्युत् उपलब्ध गराइने उनले बताए । उद्योग, विद्युतीय सवारीको प्रयोग तथा खाना पकाउनका लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नेगरी शुल्कमा समेत छुटका व्यवस्थालाई जोड दिइने उनले बताए ।

रुपन्देही, परासी क्षेत्रमा मागअनुसारको विद्युत् उद्योगलाई दिन नसकिएको भन्दै उनले यो समस्या छिटै समधान हुने बताए। सवस्टेशन निर्माण र केही ट्रान्समिसन लाइन विस्तार भइरहेकाले अहिले परीक्षणस्वरूप भारतमा विद्युत् बिक्री गरिएको उनको भनाइ छ । ‘नेपालको विद्युत् सबै यहाँ खपत गर्ने र बाँकी रहे मात्र बिक्री गर्ने लक्ष्य हो ।’ उनले भने । अहिले उत्पादन भइरहेको विद्युत् खपत नभएकाले नागरिकहलाई विद्युतको प्रयोग बढी गर्न पनि घिसिङले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर