देउवाको गृहजिल्लाको विवाद काठमाडौं आइपुग्यो, मंसिर १ गतेदेखि सानेपामा आन्दोलन (भिडिओ) – Nepal Press

देउवाको गृहजिल्लाको विवाद काठमाडौं आइपुग्यो, मंसिर १ गतेदेखि सानेपामा आन्दोलन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यता विवाद केन्द्रमा आइपुगेको छ ।

पार्टीको विधान र जिल्ला कार्यसमितिको निर्णयविपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै डडेल्धुराका असन्तुष्ट नेता कार्यकर्ताहरुले मंसिर १ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निरन्तर धर्ना दिने भएका छन् ।

डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्लले सानेपामा पत्रकार सम्मेलन गर्दै विधानविपरीत बाँडिएको क्रियाशील सदस्यता सच्याएर पुनः अधिवेशन नगरिए आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिएका छन् ।

‘शेरबहादुर देउवालाई डडेल्धुराबाट ६ पटक सांसद जिताएर ५ पटक प्रधानमन्त्री र कांग्रेसको सभापति बनायौं । तर उहाँकै नेतृत्वमा कांग्रेसका इमान्दार कार्यकर्तालाई पाखा लगाउने काम भएको छ । हाम्रो माग सम्बोधन नगरिए जस्तोसुकै आन्दोलनका लागि तयार छौं’, मल्लले भने ।

मल्लले डडेल्धुराका ५२ वटा वडामध्ये ४३ वटा वडामा जिल्लाबाट स्वीकृत क्रियाशील सदस्यता नामावलीमा व्यापक हेरफेर गरिएको आरोप लगाए ।

‘क्रियाशील सदस्यता विधिवत रुपमा तल्लो तह वडा, पालिका, प्रदश हुँदै जिल्ला कार्य समितिबाट निर्णयसहित सिफारिस भएका ४ सय ६० सदस्यता खारेज गरिनु र कुनैपनि तहबाट सिफारिस नै नभइ स्वतः ३ सय २१ क्रियाशील सदस्यता थपिनुका साथै यस्ता थुप्रै खालका गम्भीर कमजोरी रहेका छन्’, मल्लद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला समितिसँगको सहमतिविपरीत वडा अधिवेशन सम्पन्न भएको घोषणा गरेको भन्दै मल्लले ‘कथित’ वडा अधिवेशन मान्य नहुने बताए । उनले डडेल्धुराका ३ हजार बढी क्रियाशील कांग्रेस कार्यकर्ताहरु मंसिर १ देखिको आन्दोलनमा सहभागी हुने बताए । ‘३ हजारभन्दा बढी कांग्रेस कार्यकर्ताको हस्ताक्षरसहित मंसिर १ देखि कांग्रेस कार्यालयमा हामी धर्ना बस्नेछौ’, मल्लले भने ।

कांग्रेसको आइतबार बस्ने केन्द्रीय समितिको बैठकबाट डडेल्धुरा कांग्रेसबारे न्यायोचित निर्णय हुने अपेक्षा आफूले राखेको मल्लले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर