ओलीसँग भिड्न तयार भीम रावलको एमालेमा तागत कति ? – Nepal Press
एमाले महाधिवेशन

ओलीसँग भिड्न तयार भीम रावलको एमालेमा तागत कति ?

काठमाडौं । देशकै ठूलो पार्टी नेकपा (एमाले) १० औं महाधिवेशनको संघारमा छ । महाधिवेशन आउन १५ दिन पनि बाँकी नरहँदासम्म पनि एमाले नेतृत्वका लागि आकांक्षी र प्रतिष्पर्धीहरु को-को हुन् भन्ने ‘सिन क्लियर’ हुन सकेको छैन् ।

अहिलेसम्मको विकासक्रम हेर्दा यो चाहीँ स्पष्ट भएको छ कि सर्वसम्मतरुपमा एमाले अध्यक्षमा दोहोरिने केपी ओलीको चाहना पूरा हुने छैन । १० औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने उपाध्यक्ष भीम रावलको घोषणा गरेका छन् । रावल पछि ब्याक भए भिन्दै कुरा, नत्र ओलीले अध्यक्षका लागि चुनाव नै लड्नुपर्ने निश्चित भएको छ ।

२३ कार्तिकमा गृहजिल्ला अछामको साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै रावलले आफू अध्यक्षमा उठ्ने उद्घोष गरेका थिए ।

‘मलाई कार्यकर्ताले अध्यक्षमा उठ्नु भनेका छन्, तपाईंहरुले पनि त्यही भन्नु भएको छ,’ कार्यकर्तामाझ रावलको भनाइ थियो, ‘तपाईंहरुको यो आवाजलाई कमजोर हुन दिन्नँ । कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु ।’

रावलको यो उद्घोषलाई एमाले संस्थापनले धेरै गम्भीरतापूर्वक लिएको देखिँदैन । के ओलीका लागि भीम रावलले ‘थ्रेट’ पैदा गर्न सक्छन् ? एमालेभित्र उनको वास्तविक शक्ति कति हो ? विश्लेषण सान्दर्भिक हुन सक्छ ।

भुसाल–रावलको सम्भावित गठजोड

एमालेमा रावल जस्तै असन्तुष्ट नेता हुन् घनश्याम भुसाल । स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा १० बुँदे कार्यान्वयन समानरुपमा नभएको भनेर आवाज उठाउन रावललाई भुसालले साथ दिइरहेका छन् । भुसालले पनि लिखितरुपमै पार्टी निर्णयविरुद्ध फरक मत राखेका छन् । आउने महाधिवेशनमा ओलीविरुद्ध खडा हुन सक्ने उनले पनि संकेत गरेका छन् ।

रावल जस्तो भुसालले प्रष्ट शब्दमा केही भनिसकेका छैनन् । कोरोनाका कारण स्वाथ्यलाभ गरिरहेका कारण पनि उनी पूर्णरुपमा सक्रिय भइसकेका छैनन् । तर, हालै सञ्चारकर्मीसँगको एक भेटघाटमा उनले नेतृत्वमा दावी रहने घुमाउरो तरिकाले बताएका थिए ।

२३ असोजमा भुसालले पत्रकारहरुका लागि गरेको चियापान कार्यक्रममा एमालेले अंगिकार गरेको नीति आफूहरुको भएकाले नेतृत्व पनि आफूहरुकै हुनुपर्ने बताएका थिए । ‘अस्तिको महाधिवेशनमा हाम्रो अध्यक्ष कमरेड केपी ओलीले भन्नुभएको छ, नीति पुष्पलालको भयो तर उनलाई नेता बन्न दिइएन,’ भुसालको कूटनीतिक अभिव्यक्ति थियो, ‘यसो गर्दा नीति नै प्रष्ट हुनुपर्ने र त्यस अनुसारको नेतृत्व हुनुपर्ने ओली कमरेडले भनेको हुनाले यो विवादित विषय नै रहेन कि ?’

नेतृत्वमा दावी रहन्छ कि रहँदैन भनेर पत्रकार थप प्रष्ट हुन चाहेपछि भुसालले भनेका थिए, ‘जसले नेकपा एमालेको नेता हुन चाहनेछन्, एमालेको नीति हाम्रो हो भनेर पुष्टि गर्नुपर्छ भनेर हाम्रो अध्यक्षले जोड दिनुभएको सन्दर्भमा त्यसैलाई हेर्ने हो कि भन्ने लाग्छ ।’

भुसालले नेतृत्वमा दावी गर्न चाहेका छन् तर कुन पदमा भन्ने प्रष्ट छैन । हुन सक्छ उनी आफैं प्रष्ट छैनन् । रावलले अध्यक्षमा उठ्ने घोषणा गरिसकेको सन्दर्भमा भुसालले उनलाई साथ दिनसक्ने कतिपयको ठम्याइ छ । रावललाई अध्यक्षमा समर्थन गरेर उनले महासचिवमा आफ्नो दावेदारी पेश गर्न सक्छ । त्यसो भएमा रावल–भुषालको प्यानल बन्ने छ ।

शक्तिहीन रावल

एमालेमा माधव नेपालहरु रहँदासम्म भीम रावल पार्टीभित्र निकै शक्तिशाली थिए । नवौं महाधिवेशनमा उनले उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याएका थिए । पछिल्लो समय नेकपा र एमालेको संघर्षमा रावलले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनका बाबजुद पनि सुदुरपश्चिम प्रदेशमा माओवादीका त्रिलोचन भट्टका पक्षमा अधिकांश प्रदेश सांसदलाई मत दिलाउन सफल भएका थिए ।

तर पछिल्लो समय उनको पार्टी र सुदूपश्चिम क्षेत्रमा रहेको पकड गुमेको छ । अन्तिम समयमा माधव नेपालको साथ छोडेर एमालैमा रहने निर्णय गरेका रावललाई उनकै धेरै विश्वासपात्रहरुले छाडेका छन् ।

सुदुरपश्चिम प्रदेशसभामा तत्कालीन नेपाल पक्षमा १७ सांसद थिए । उनीहरु सबैले रावललाई नेता मानेका थिए । तर, पार्टी विभाजनमा तीमध्ये १३ जनाले नेपाललाई साथ दिए । ३ प्रदेश सांसद मात्रै रावलको पक्षमा रहे ।

आफ्नै गृहजिल्लामा पनि रावल निकै कमजोर बनेका छन् । प्रदेशसभामा अछामका ४ एमाले सांसदमध्ये ३ जनाले रावलसँगको यात्रा अलग गरेका छन् । मना साउद, दुर्गाकुमारी कामी र बलबहादुर सोडारीले उनलाई साथ दिएनन् ।

रावलको सबैभन्दा निकट रहेर लामो समय काम गरेका उनको गृह जिल्ला अछामका जिल्ला अध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पनि एकीकृत समाजवादी रोजे । यसले राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली स्थान राख्ने रावललाई निकै कमजोर बनाएको छ ।

रावलको घट्दो शक्तिलाई नै मध्यनजर गरेर नै ओलीले उनको असहमतिलाई गम्भीरतापूर्व लिएको देखिदैन् । १० बुँदे सहमति अनुसार रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिन पनि ओली तयार भएका छैनन् ।

ओली पक्षीय नेता खगराज अधिकारी पनि रावलले अध्यक्षमा उठ्ने घोषणालाई खासै महत्व दिन चाहँदैनन् । ओली सर्वसम्मत अध्यक्ष बन्ने दावी गर्दै उनी भन्छन्– मैदानमा उपाध्यक्ष अध्यक्षको लागि आउनु कुन ठूलो कुरा हो ?

पार्टीमा लगभग शक्तिहिन बनेका रावलले ओलीलाई धेरै ठूलो चुनौति खडा गर्ने अवस्था देखिएको छैन । यद्यपि प्रखर व्यक्तित्व र राष्ट्रियताका मामलाहरुमा लिँदै आएको अडानले गर्दा व्यक्तिगत लोकप्रियताका केही भोट उनले पाउन सक्छन् । चुनाव नजिते पनि उल्लेख्य भोट ल्याएको खण्डमा त्यो उनका निम्ति जितबराबर मानिने छ ।

१० भाइ आ–आफ्नै बाटोमा

पार्टी विभाजनमा साथ नदिएर एमालेमै रहेका तत्कालीन नेपाल समूहका १० जना स्थायी कमिटीका सदस्यहरु एमाले भित्र ‘१० भाइ’ का नामले परिचित छन् । एमाले महाधिवेसन नजिकिँदै गर्दा यी १० भाइको एकता पनि भंग हुन थालेको छ । उनीहरु आआफ्नै व्यवस्थापनमा ध्इान दिन थालेका छन् ।

१० भाइले १० बुँदे सहमति गरेर एमालेमै रहने निर्णय गरेका थिए । तर, त्यही १० बुँदे सहमति समानरुपमा कार्यान्वयन नहुँदा पनि रावल र भुसाल बाहेक अरु कसैले पनि असन्तुष्टि प्रकट गरिरहेका छैनन् । रावल र भुसालले बैठकमा ओलीको प्रतिवाद गर्दा अरु मौन रहने गरेका छन् ।

यस हिसाबले महाधिवेशनमा १० भाइहरु एकजुट हुने अवस्था देखिदैन । उनीहरु सबैले ओलीलाई रिझाएरै आफ्नो स्थान सुरक्षित गर्ने रणनीति लिएको देखिन्छ । यसले रावलको शक्ति थप क्षिण बनेको छ ।

सुरेन्द्र पाण्डे ओलीसँग भिड्ने भन्दा पनि मिलेर जाने मुडमा छन् । पछिल्लो समय ओलीको आलोचनाका सन्दर्भमा मौन रहने गरेका पाण्डेलाई एमालेले चितवनमा हुने महाधिवेशन आयोजक मुल व्यवस्थापन समितिको सह–इन्चार्ज बनाएको छ । अध्यक्षमा ओली सर्वसम्मत हुने बताइरहेका पाण्डेको व्यक्तिगत रुची महासचिव वा उपाध्यक्षमा छ ।

नवौं महाधिवेशनमा नेपाल समूहको प्यानलबाट महासचिवको उम्मेदवार बनेर उनले ईश्वर पोखरेलसँग हारेका थिए । पाण्डेले महासचिव भन्दा तल्लो पदमा बस्न आफूलाई असहज हुने बताउने गरेका छन् । उनी ओलीको विश्वास जितेर सम्भव भएसम्म महासचिव नभए उपाध्यक्ष बन्ने दाउमा छन् ।

अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य केही समय वागमती प्रदेशको मुख्यमन्त्री बन्न पाएपछि ओलीको खासै ओलोचना गर्ने गरेकी छैनन् । यसपाली पनि उपाध्यक्षमै दोहोरिने उनको मनसाय छ ।

अर्का उपाध्यक्ष युवराज ज्ञवालीले भने १० बुँदे अनुसार कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् । उनी पनि अहिले ओलीको आलोचनामा उत्रिने गरेका छैनन् । ज्ञवालीलाई ओलीले अनुशासन आयोगको अध्यक्ष बनाएर ‘सेटल’ गर्न खोजेका छन् । भीम आचार्य पनि केही समय प्रदेश १ को मुख्यमन्त्री बन्न पाएपछि आफूले १० बुँदे अनुसार प्रदेश १ को इन्चार्जको जिम्मेवारी नपाउँदा पनि असन्तुष्ट देखिँदैनन् । ओलीसँग भिड्ने भन्दा पनि मिलेर फेरि पनि एमाले सचिव बन्ने उनको रणनीति देखिन्छ ।

एमालेमा विधान संशोधन गरेर ७ सचिव रहने व्यस्था गरिएको छ । हालका सचिवहरु गोकर्ण विष्ट र योगेश भट्टराई पनि ओलीसँग मिलेरै फेरि पनि सचिवमा दोहोरिने दाउमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर