सीपीसी केन्द्रीय कमिटी बैठक सम्पन्न : चीनलाई आगामी शताब्दीको विश्व शक्ति बनाउने संकल्प पारित – Nepal Press

सीपीसी केन्द्रीय कमिटी बैठक सम्पन्न : चीनलाई आगामी शताब्दीको विश्व शक्ति बनाउने संकल्प पारित

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को उच्चस्तरीय बैठकले पार्टीको सयवर्षका मुख्य उपलब्धी र ऐतिहासिक अनुभवबारेको प्रस्ताव पारित गरेको छ । वरिष्ठ चिनियाँ राजनीतिक विश्लेषकले सीपीसी केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकले पार्टी नेतृत्वलाई केन्द्रमा राख्दै चीनलाई आउँदो शताब्दीमा थप ‘सुद्धढ तुल्याउने लक्ष्य लिएको बताएका छन् ।

बिहीवार सार्वजनिक गरिएको कमिटीको लामो प्रतिवेदनमा विगतमा चीन कसरी सफल रह्यो र भविष्यमा सफलतालाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे वर्णन उल्लेख छ ।

भविष्यका चुनौतिहरुको सामना गर्न र राष्ट्रिय एकतामा अटल रहन चीन तयार रहने समेत उक्त प्रतिवेदनमा जनाइएको छ । यो १९ औं केन्द्रीय कमिटी बैठकमा प्रस्तुत उक्त संकल्प प्रस्तावको समीक्षा र अनुमोदन भएको सिन्ह्वाले जनाएको छ । कमिटीको छैटौं विस्तारित बैठक ८ देखि ११ नोभेम्बरसम्म बेइजिङमा बसेको थियो ।

उक्त सत्रमा सीपीसी महासचिव सी जिनपिङले महत्वपूर्ण सम्बोधन गरेका थिए । ‘सो विस्तारित बैठक चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासलाई मात्र नभएर चीनकै लागि कोशेढुंगा भएको छ । यसले अर्को नयाँ ऐतिहासिक यात्रा र राष्ट्रिय एकताको थालनी गरेको छ’ चाइनिज एकेडेमी एन्ड सोसल साइन्सेजका निर्देशक झाङ सुहुआले भने ।

‘अघिल्ला छ वटा विस्तारित बैठकहरुसँग तुलना गर्दा, यसपटकको सत्रले चीन कसरी सफल रह्यो, आत्मविश्वास कसरी बढाउने तथा ती अनुभव कसरी विश्वका लागि अर्थपूर्ण छन् भन्ने कुरालार्ई सारांशमा उल्लेख गरेको छ’ झाङले भने, ‘अहिलेको जटिल विश्वको परिस्थितीको सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टीका यी अनुभवहरु उच्च मूल्यवान, चीनको शक्तिलाई अथ्र्याउने, सिद्धान्त, धैर्यता र त्यसको आत्मालाई वर्णन गरेका छन् ।’

सार्वजनिक गरिएको प्रतिवेदनमा सयवर्षको चिनियाँ कम्युनिष्ट पार्टीका उपलब्धीलाई इतिहासका चार भागमा विभाजन गरिएको छ । इतिहासका मुख्य प्रतिनिधिहरु माओत्से तुङ, देङ जिआओपिङ, जियाङ जेमिन, हु जिन्ताओ र सी जिनपिङ कालखण्डमा हासिल भएका उपलब्धीलाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।

माओकालिन चीनलाई सामाजिक क्रान्ति र निर्माणको युगको रुपमा उल्लेख गरिएको छ । देङ, जियाङ र हुको समयलाई पुनर्संरचनाको नयाँ युग, खुला र समाजवादी आधुनिकिरण भनिएको छ । सीकालिन समयलाई चिनियाँ विशेषतासहितको समाजवादको रुपमा व्याख्या गरिएको छ ।

विश्लेषकले सयवर्षको चिनियाँ उपलब्धीलाई रिले दौडको रुपमा व्याख्या गरेका छन् । प्रत्येक पुस्तामा चिनियाँ कम्युनिष्टले आफ्नै युगिन कार्यभारहरु पुरा गरेको, नयाँ उपलब्धी हासिल गरेको र चुनौतिलाई परास्त गरेको बताएका छन् । सबैजनाको गन्तव्य एउटै रहेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘कम्युनिष्ट सिद्धान्तमा प्रतिबद्ध रहँदै चिनियाँ जनताको खुशि खोज्नु र चीनको राष्ट्रिय एकता हासिल गर्नु हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर