माधव नेपालको ब्रिफिङ– हाम्रो पार्टीप्रति ह्वात्तै आकर्षण बढ्यो, एमाले छाड्नेको लहर चलेकाे छ – Nepal Press

माधव नेपालको ब्रिफिङ– हाम्रो पार्टीप्रति ह्वात्तै आकर्षण बढ्यो, एमाले छाड्नेको लहर चलेकाे छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढेको बताएका छन् । शुक्रबार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बसेको स्थायी कमिटी बैठकमा पार्टी गठनदेखि अहिलेसम्मको अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै उनले अन्य पार्टी छाडेर नेकपा एसमा आउनेको लहर चलेको पनि बताए।

‘हामीले पार्टी गठन गरिसकेपछि सबैतिर निकै राम्रो प्रतिक्रिया आएको छ,’ उनको भनाइ छ, ‘सबैतिर नेकपा एमाले छोडेर हाम्रो पार्टीमा आउन तयार हुँदाहुँदै पनि अरुलाई पनि लिएर आउन भनेर उहाँले अलमल गर्नु भएको थियो। त्यस्ता कमरेडहरु पनि अहिले धमाधम आउँदै हुनुहुन्छ ।’

नेपालले एमाले छाडेर आउने, अन्य पार्टीबाट प्रवेश गर्ने र सहकार्य गर्न चाहनेहरु बढेको बताए। ‘अर्कोतिर विभिन्न पार्टी छोडेर आउनेक्रम पनि जारी छ। र, एमाले छाडेर आउने र अन्य पार्टी छोडेर आउने लहर चलेको छ । र विभिन्न पार्टीहरुसँग हाम्रो कुराकानी पनि चलिरहेको छ,’ नेपालले भने। डडेलधुरामा सिंगै जिल्ला कमिटी नेकपा एसमा आएको उदारण दिँदै उनले यसले आफूहरुमा उत्साह प्रदान गरेको बताए।

अरु पार्टीले पनि सहकार्यको प्रस्ताव राखेको उनको भनाइ छ । ‘विभिन्न दलले हामीसँग राजनीतिक छलफल गर्नका लागि पनि प्रस्ताव राखेका छन्,’ नेपालले बैठकमा जानकारी गराउँदै भने, ‘कतिपयसँग विभिन्न तहमा छलफल भएका छन् । उहाँहरु हामीप्रति आर्कषित हुनु भएको छ र सहकार्य गर्न चाहानु भएको छ ।’

नेपालले आफ्ना विरुद्ध एमालेले झुटा प्रचार गरिरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न पनि आग्रह गरे। ‘हाम्रो विपक्षमा केपी गुट खुलेर लागिरहेको छ,’ उनको भनाइ छ, ‘हाम्रा विरुद्धमा झुटा प्रचार गरिरहेको छ । त्यसको चोटिलो प्रतिवाद गर्ने कुरामा हाम्रोमा कमीकमजोरी भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर