ए डिभिजन लिगको टिकट एक सय र पाँच सय (भिडिओ) – Nepal Press

ए डिभिजन लिगको टिकट एक सय र पाँच सय (भिडिओ)

काठमाडौं । मंसिर ३ गतेदेखि सुरु हुने शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशरथ रंगशालामा हुने खेलका लागि साधारण प्यारापिटतर्फ एक सय र भीआईपी प्यारापिटतर्फ पाँच सय रूपैयाँ टिकट निर्धारण भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मलेनमार्फत गत संस्करणको लिगमा अपेक्षित दर्शक तान्न नसकेकाले टिकट मूल्य घटाइएको जानकारी दिएको छ ।

‘गत संस्करणमा हामीले अपेक्षित दर्शक लिगमा तान्न सकेनौं,’ लिग निर्देशक सन्जिव मिश्रले भने, ‘त्यसैले यो पटक हामीले टिकट मुल्य पनि कम गरेका छौं ।’

यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । मनाङ मस्र्याङ्दी क्लबको होम ग्राउन्ड पोखरा रंगशाला भएकाले केही खेल त्यहाँ गराउने विषयमा पनि छलफल भइरहेको उनले बताए ।

यसअघि कात्तिक २९ गतेदेखि नै लिग सुरु हुने बताइए पनि अन्तिम समयमा आएर लिग चारदिनपछि सरेको थियो । पहिलो चरणका खेलहरू शुक्रबार र शनिबार दुवै दिनका खेल रंगशलामा, आइतबार र सोमबार एन्फा कम्प्लेक्समा हुने एन्फाले जानकारी दिएको छ ।

लिग सञ्चालनका लागि एन्फाको बजेट करिब ६ करोड ५० लाख रहेको र त्योमध्ये १ करोड ५० हाराहारीमा कतार एयरवेजले बेहोर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, लिग सुरु हुनुअघि कोभिड नेगेटिभको रिपोर्ट बुझाएका खेलाडीलाई प्रतियोगिताका दौरान कोरोना संक्रमण भए त्यसको सम्पूर्ण खर्च एन्फाले ब्यहोर्ने बताएको छ ।

यस्तै, लिगका सबै खेलमा रंगशालाको पूर्ण क्षमतामा दर्शक राखेर खेल गराउने एन्फाले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर