‘द भ्वाइस किड्स’लाई प्रिमियरमा ‘मीठो प्रतिक्रिया, ब्लाइन्ड अडिसन प्रसारण आजदेखि – Nepal Press

‘द भ्वाइस किड्स’लाई प्रिमियरमा ‘मीठो प्रतिक्रिया, ब्लाइन्ड अडिसन प्रसारण आजदेखि

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को बिहीबार बेलुकी राजधानीको एफक्यूब हलमा प्रिमियर गरिएको छ । पत्रकार, विज्ञापनदाता र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई प्रिमियरमा देखाइएको हो । उक्त सो आज बेलुकी ८ बजेबाट हिमालय टीभीमा प्रशारण हुने तयारीमा छ ।

६ बर्षदेखि १४ बर्ष उमेर समुहका बालबालिकाहरुले सहभागीता जनाएको यो कार्यक्रमको ‘ब्लाइन्ड अडिसन’ आजबाट प्रशारण हुनेछ । प्रिमियरमा शो हेरेपछि मिडियाकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले सुखद प्रतिक्रिया दिएका थिए । बालबालिकाहरुको भावनालाई समेत ध्यानमा राखेर उत्कृष्ट तरिकाले शो तयार पारिएको उनीहरुको भनाई छ ।

प्रिमियरमा पाएको प्रतिक्रियाले आफूहरु उत्साहि त भएको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । उनले भने- ‘कार्यक्रम तयार गर्दा नै हामीलाई शोले कस्तो प्रतिक्रिया पाउँछ भन्ने अड्कल लगाएका हुन्छौं । प्रिमियरमा विभिन्न क्षेत्रका मानिसहरुले दिनुभएको प्रतिक्रियाले उत्साह थपेको छ । अब, दर्शकले दिने प्रतिक्रियाबाट अझै हामीलाई थप ऊर्जा मिल्नेछ ।’

सोका निर्माता तथा संचालक सुशिल नेपालले बालबालिकाहरुसँग जोडिएको यो शोको छायांकनका क्रममा आफू कैयौं पटक रोएको बताए । प्रिमियरमा यो शो हेरेपछि अतिथीहरु पनि भावुक बनेका थिए । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुने यो शोमा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी, मिलन अमात्य कोचको रुपमा छन् ।

यो सोे २० भाग प्रसारण हुने जनाइएको छ । राजु र प्रमोद यसअघि ‘द भ्वाइस अफ नेपाल’को तीन श्रृङ्खलामा कोचको रुपमा प्रस्तुत भैसकेका छन् । मिलन र प्रविशाका लागि भने यो सो नयाँ हो । प्रिमियरमा शो हेरेका अधिकांशले मिलन र प्रविशाको प्रस्तुतिको खुलेरै प्रशंसा गरे । उनीहरुले भने-‘यसपटक २ नारी भारी पर्ने देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर