कांग्रेस संस्थापनमा दुई उम्मेदवार पक्का, शुभकामना लिएर बालुवाटारबाट बाहिरिए निधि – Nepal Press

कांग्रेस संस्थापनमा दुई उम्मेदवार पक्का, शुभकामना लिएर बालुवाटारबाट बाहिरिए निधि

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट दुई जना उम्मेदवार बन्ने पक्का भएको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे छलफल गर्न बिहीबार संस्थापन पक्षका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि लोकतान्त्रिक प्रतिस्पर्धाका लागि आपसमा शुभकामना आदान-प्रदान गर्दै छुट्टिएका छन् ।

बैठकमा सभापति देउवाले पार्टीको महाधिवेशनबारे सल्लाह गर्न बोलाएको बताए । देउवाले १४ औं महाधिवेशनमा अन्तिम कार्यकालका लागि आफू सभापतिको प्रत्याशी बन्ने बताए । उनले बैठकमा सहभागि उपसभापति निधिलाई आफूले यसअघि नै आग्रह गरिसकेको उल्लेख गरेका थिए । देउवापछि बोलेका उपसभापति निधिले विगतमा नै आफ्नो उम्मेदवारीबारे सभापतिसँग छलफल भइसकेको बताए । ‘मैले पहिलेपनि शेरबहादुरजीलाई उम्मेदवारीबारे भनेको छु । मैले सधै उहाँलाई सहयोग गरेको हुँ , अब उहाँले मलाई सहयोग गर्नुपर्यो’, निधिले भने ।

उपसभापति निधिले आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गर्दै देउवालाई कार्यकर्ता र जनताको मुड बुझ्न आग्रह गरे । ‘आज कार्यकर्ता र जनताको मुड के छ ? शेरबहादुरजी र रामचन्द्रजी दुवै कांग्रेसको नेतृत्वमा आउनुहुन्न भन्ने मत सबैतिर छ । त्यसैले मेरो उम्मेदवारीमा सहयोग गर्न आग्रह गर्छु’, निधिले भने । सभापति देउवाले तत्कालै निधिलाई ‘मेरो शुभकामना छ’ भनी जवाफ फर्काएका थिए । जवाफमा निधिले ‘यो शुभकामनालाई समर्थनको रुपमा बुझौं त ?’ भनी प्रश्न गरे ।

देउवाले कांग्रेसको विधान अनुसार सभापतिमा लड्ने अधिकार आफूलाई पनि भएको भन्दै आफू उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट गरे । त्यति नै बेला निधिले ‘तपाईंलाई ज्योतिषीले पटक-पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेको हो सभापति होइन’ भनी ठट्टा गरेका थिए ।

निधिको ठट्टापछि देउवाले कुनै जवाफ फर्काएनन् । सभापति लड्न आफूले तयारी अगाडि बढाएको उल्लेख गर्दै निधिले पार्टीभित्र नयाँ नेतृत्वको खोजी भइसकेको विषयलाई नजरअन्दाज गर्न नहुने सुझाए ।

४५ मिनेटजति बैठकमा बसेका निधिले स्वीटजरल्याण्डका राजदूतसँग पूर्व निर्धारिता भेटवार्ताको कार्यक्रम रहेकोले आफू छिट्टै निस्किने बताए । निधि चाडै निस्कने भएपछि देउवाले ‘ल शुभकामना छ’ भने । निधि बाहिरिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर