कपिलवस्तुमा असोजदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन – Nepal Press

कपिलवस्तुमा असोजदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

विश्व स्वास्थ्य संगठनले खोप सहयोग गर्ने

रुपन्देही । कपिलवस्तुको कृष्णनगरमा गत असोज १८ गतेबाट फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । महिना दिनसम्म पनि झाडापखाला नियन्त्रणमा नआएपछि थप जोखिम हुन नदिन विश्व स्वास्थ्य संगठनले साढे दुई लाखभन्दा बढी डोज खोप सहयोग गर्ने भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार आगामी दिनमा थप जोखिम हुन नदिन दुई लाख ५२ हजार तीन सय ६३ डोज खोप दिन लागेको हो । विश्व स्वास्थ्य संगठनले खोप दिने निर्णय गरिसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा हाल पनि दैनिक १० जनाका दरले विरामी भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

असोजमा देखिएको झाडापखाला प्रयोगशालामा परीक्षण गर्दा केही बिरामीहरूमा हैजा भएको प्रमाणित भएको थियो । अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३ सय ३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । अहिलेसम्म जिल्लामा ६ जनाको झाडा पखालाकै कारण मृत्यु भइसकेको छ ।

पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पिउने, सावुनपानीले हात धुनेलगायत सरसफाइमा विशेष ध्यान दिएमा मात्र झाडापखाला नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

कृष्णनगरबाट शुरु भएको झाडा पखाला अरु पालिकामा पनि पुगेकाले प्रदेश सरकारले नियन्त्रणको लागि सजगता अपनाएको र सचेतना तथा थप जनशक्तिका लागि तयारी गरेको लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित चौधरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर