सडक विस्तारमा आलटाल भएको भन्दै सडक डिभिजन कार्यालयमा एमालेको धर्ना – Nepal Press

सडक विस्तारमा आलटाल भएको भन्दै सडक डिभिजन कार्यालयमा एमालेको धर्ना

रुपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गृहनगर बुटवलको सडक समयमै निर्माणका लागि पटक–पटक निर्देशन दिँदा पनि ढिलाइ भएको भन्दै सो पार्टीको स्थानीय कमिटीले सडक डिभिजन कार्यालयमा धर्ना दिएको छ ।

एमालेले बुटवलको बीचभागमा रहेको पूर्वपश्चिम राजमार्ग र उत्तरदक्षिण सिद्धार्थ राजमार्गको संगमस्थलको रहेको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक खण्डको बेहाल अवस्थाले मानव स्वास्थ्यमा असर पुर्याएको भन्दै तत्काल मर्मत गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

पौडेल आफैंले यसअघि बुटवल आएको समयमा प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक कार्यालयका प्रमुख तथा निर्माणको ठेक्का लिएको कम्पनीलाई ताकेता गरेर समयमै सकाउने प्रतिवद्धता गराएका थिए । तर अनेक बहाना देखाएर काममा ढिलाइ भएपछि स्थानीय कमिटीले निर्माणका लागि दबाब दिन विभागीय कार्यालयको ध्यानाकर्षण गराएको हो ।

धर्नापछि सडक डिभिजन कार्यालय बुटवलमा कार्यालय प्रमुखसमक्ष बिहीबार ज्ञापनपत्र बुझाउँदै एमाले बुटवल उपमहानगरले जवाफदेही निकाय र निर्माण कम्पनीलाई तत्काल काम सुरु गर्न आग्रह गरेको छ । एमालेका उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा जिल्ला कमिटी उपसचिव, सचिवालय सदस्यलगायत नगर कमिटीका पदाधिकारी र सदस्यहरुको संयुक्त टोलीले सडक विभागको डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको एमाले बुटवल उपमहानगरका सचिव मेघराज भट्टराईले जानकारी दिए ।

गोलपार्कदेखि बेलहिया नाकासम्मको व्यापारिक मार्ग विस्तार आयोजनाअन्र्तगत बाँकी खण्डको काम सम्पन्न भएपनि राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकखण्ड वर्षौसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धनमा समेत ठूलो अवरोध सिर्जना भएको एमाले बुटवलको ठहर छ ।

सडकका कारण यहाँको पर्यावरण, हरियाली र वातावरणमा समेत क्षति पुगेको छ । यो बाटो भएर हिँड्ने लाखौं यात्रु, बुटवलमा आउने हजारौं पाहुना तथा पर्यटकहरुको अगाडि हामी बुटवलबासी तथा बुटवललाई माया गर्नेहरु लज्जित भएको भन्दै मानव स्वास्थ्यमाथि खेलवाड भएको समेत एमालेको आरोप छ ।

‘४–५ वर्षसम्म सडक क्षेत्राधिकार भित्रका संरचनाहरु हटाउने लडाइँ र सडक क्षेत्राधिकार कायम गरिसकेपछि फेरि यो वा त्यो बहानामा यसको निर्माण कार्यमा किन ढिलाइ गरिएको छ ? बारम्बार निर्माण व्यवसायीको म्याद थप्दै जाने र निर्माण व्यवसायीले भने काम नगर्दै जाने अवस्था कहिलेसम्म ? किन बारम्बार अटेर गरिरहेको छ निर्माण व्यवसायीले ? किन दादागिरी देखाइरहेको छ निर्माण व्यवसायीले ?’ एमालेको प्रश्न छ ।

बुटवलका मेयरको आक्रोश

बुटवलको मुख्य खण्डकै सडक विस्तारमा ठेकेदार र त्यसको नियमन गर्ने निकायदेखि प्रदेश तथा संघीय सरकारका निकायले चासो नदिएको बुटवलका प्रमुख शिवराज सुवेदीको गुनासो छ ।

स्थानीय पालिकाले काम गर्न नपाउने, कानूनले रोक्ने तर, काम गराउने र गर्ने निकायले हाइसञ्चो मानेर बस्ने गरेको उनको आरोप छ । पालिकाको बजेट त्यहाँ प्रयोग गर्न नपाउने, बजेट विनियोजन गरेर काम गराउने निकायले ढिलासुस्तीमा मौनता साँध्ने काम भएको भन्दै प्रमुख सुवेदीले कतै राजनीतिक दाउपेच पो झल्काउन खोजिएको हो कि भन्ने आशंका व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर