खोटाङ कांग्रेसमा अधिवेशनको सरगर्मी, यी हुन् आकांक्षी – Nepal Press

खोटाङ कांग्रेसमा अधिवेशनको सरगर्मी, यी हुन् आकांक्षी

खोटाङ । खोटाङमा कांग्रेसको जिल्ला अधिवेशनको सारगर्मी बढेको छ । आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेशनमार्फत पार्टीको नेतृत्वमा पुग्नका लागि फरकफरक समूह बनाएर उम्मेदवार तयार गर्ने होड चलेको छ । कतिपय नेता मतदाता फकाउने र आफ्नो समूहमा ल्याउनका लागि दौडधुपमा लागेका छन् ।

२३ र २४ कात्तिकमा हलेसीमा बसेको कांग्रेसको एक पक्षको बैठकले पूर्वजिल्ला सभापति विष्णुकुमार राईलाई जिल्ला सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । उपसभापतिमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईलाई अघि सारेको बैठकमा सहभागी कांग्रेस नेताले बताएका छन् । यसअघि सभापतिमा दाबी गर्दै आएका भट्टराई उपसभापतिका उम्मेदवार बनाइएका हुन् ।

सचिवमा भने तीनजनाको दाबी देखिएको छ । वर्तमान सचिव ज्ञानेन्द्र जोशी, समिर राई र सुमनबाबु आचार्य सचिवको आकांक्षी देखिएका छन् । यस्तै, सहसचिवमा सार्जन राई र बराहपोखरी गाउँपालिकाका अध्यक्ष रहेका शालिकराम बञ्जरालाई अघि सार्ने छलफल गरिएको जनाइएको छ । तर, उम्मेद्‌वारीको औपचारिक घोषणा गर्न भने बाँकी नै छ ।

जिल्ला सभापति र उपसभापति निश्चितजस्तै भए पनि सचिव र सहसचिवको उम्मेद्वारका विषयमा भने छलफल भइरहेको जनाइएको छ । यही उम्मेद्‌वारीका विषय केही समयअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । पूर्वसभापति राईको उम्मेद्‌वारीलाई वर्तमान सभापति नरेश श्रेष्ठ, महासमिति सदस्य सुवासकुमार पोखरेल, दिनेश राई, बीरकाजी राई, हिरा गुरुङलगायतको समर्थन छ । धेरैजसो भ्रातृ तथा शुभेच्छुक संगठनसमेत आफ्नो पक्षमा रहेको दाबी गरिएको छ ।

क्षेत्र नम्बर १ को सभापतिका लागि राजेन्द्र राई र भक्तजङ राईबीचमा प्रतिस्पर्धा हुने कांग्रेसले जनाएको छ । क्षेत्र नम्बर २ को सभापतिमा दिनेश घिमिरे र चण्डीकुमार राईबिचमा प्रतिस्पर्धा हुने बताइएको छ । राजेन्द्र र दिनेश सभापतिका उम्मेद्‌वारी विष्णुकुमारकै टिमबाट क्षेत्रीय सभापतिमा लड्न लागेका हुन् । यद्यपि, अधिवेशनको दिनसम्ममा कतिपय उम्मेद्‌वार तलमाथि हुनसक्ने अनुमान छ ।

कांग्रेसको जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई पनि आकांक्षी छन् । क्षेत्र नम्बर १ र २ को अधिवेशनको नतिजाअनुसार समिकरण फेरबदल हुनसक्ने चर्चा छ । एक ठाउँमा उभिएर सिंगो कांग्रेसको साझा उम्मेद्वार तय गर्ने विषयमा भने नेताहरू एक ठाउँमा आउन हिच्किचाइरहेका देखिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर