एमाले महाधिवेशन उद्घाटनस्थलः दुईतले मञ्च, ६ वटा गेटबाट प्रवेश – Nepal Press

एमाले महाधिवेशन उद्घाटनस्थलः दुईतले मञ्च, ६ वटा गेटबाट प्रवेश

चितवन । नेकपा एमालेका शिर्ष नेताहरुले मंसिर १० गतेदेखि चितवनमा हुने १० औं महाधिवेशन हुने स्थल अवलोकन गरेका छन् ।

पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु राजन भट्टराई, योगेश भट्टराईलगायतका नेताहरुले नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् ।

करिब ५ लाख जनता लक्ष्य लिइएको अधिवेशनको उद्घाटन नारायणी नदी किनारमा हुनेछ । जहाँ आकर्षक मञ्च बनाइने र प्रविधिको व्यापक प्रयोग गर्ने एमालेले जनाएको छ ।

एमाले सचिव प्रदिप ज्ञवालीले भने– मञ्चको डिजाइन गर्दै छौं, धेरै ठाउँमा डिस्प्लेहरु राख्नेछौँ, सहजै हाम्रा अभिव्यक्ति जनताले सुन्ने वातावरण बनाउनेछौं ।

उनले ठाउँ र पूर्वाधार अभाव भएपनि जनतालाई सहज हुने गरी अस्थायी संरचना बनाएर उद्घाटनसत्र भव्य बनाइने बताए । चितवनको पर्यटन, संस्कृति, आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्न महाधिवेशनले सघाउने उनले बताए ।

केन्द्रीय सदस्य विनोद श्रेष्ठले दुईतले आकर्षक स्टेज बनाइने जानकारी दिए । चितवन महोत्सव हुने गरेको नारायण नदी किनार चौरको अन्तिम भागमा स्टेज बनाइने छ । ‘स्टेजका अतिथिलाई नारायणी पुल नजिकैबाट समेत हेर्न सकिने गरी स्टेज बनाउने छौं’, उनले भने, नदी किनार एमालेको लोगोमय हुनेछ, देशभर महाधिवेशनको सन्देश प्रवाह हुनेछ ।’

उद्घाटन समारोह प्रवेश गर्ने ६ वटा गेटहरु बन्नेछन् । मुख्य स्टेज नजिकैको ६ नम्बर गेटबाट भिआइपीको प्रवेश हुने छ भने ५ नम्बर गेटबाट नेता तथा प्रतिनिधिहरु प्रवेश गर्नेछन् । अन्य गेटबाट कार्यकर्ता र जनताले प्रवेश पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर