भारतीय राष्ट्रपति भवन टेकेका दुई जोडी नांगा खुट्टा ! – Nepal Press

भारतीय राष्ट्रपति भवन टेकेका दुई जोडी नांगा खुट्टा !

दिल्ली । भारत सरकारले जनतालाई दिने चौंथो सर्वोच्च सम्मान हो पद्मश्री अवार्ड । विभिन्न विधामा उल्लेखनीय योगदान गरेका नागरिकलाई राष्ट्रपतिको हातबाट यो अवार्ड वितरण हुन्छ । यसपालीको पद्मी अवार्ड वितरण हुँदा दुई अनुहारले मिडिया र सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेका छन् ।

‘जंगलकी इन्साइक्लोपेडिया’को उपनामले चर्चित ७२ वर्षिया तुलसी गोद्वा र ‘अक्षरका सन्त’ भनिने सुन्तला व्यापारी हरेकला हजब्बा अवार्ड पाउनेहरुको पंतिमा फरक अनुहारहरु थिए । उनीहरु यी दुबैजनाले भारतको सर्वोच्च नागरिक सम्मान पद्मश्री अवार्ड सोमबार राष्ट्रपति रामनाथ कोविन्दबाट ग्रहण गरे ।

यस्तो कार्यक्रममा अवार्ड लिन पुग्नेहरु प्राय औपचारिक पोशाकमा हुन्छन् । तर, यी दुवैजना खाली खुट्टा राष्ट्रपति भवन प्रवेश गरेका थिए, जसलाई सामाजिक संजालदेखि मिडियाले ‘भारतका असली नायक’को संज्ञा दिएका छन् । उनीहरुको नांगो खुट्टाको चर्चा अहिले अन्तर्राष्ट्रिय संचारमाध्यमले समेत गर्न थालेका छन् ।

सन् २०२० का लागि ६१ जना छनोट भएका थिए । तर, यी दुईको चर्चाले अरुलाई ओझेलमा पारिदियो । उनीहरुको नांगो खुट्टा आफूलाई विश्वस्तरमा शक्तिराष्ट्रको पहिचान दिलाउन प्रयासरत भारतका लागि एउटा व्यंग्य थियो । सम्मान ग्रहण गरेपछि राष्ट्रपति कोविन्द र प्रधानमन्त्री मोदीसँग उनीहरुले खिचाएका तस्बिरहरु अहिले भाइरल बनेका छन् ।

सम्मान थाप्न तपाईं किन नांगै खुट्टा जानुभएको भनेर भारतीय मिडियाले हजब्बालाई प्रश्न तेस्र्याउँदा उनले बिनम्रतापूर्वक भनेका थिए, ‘मैले कसरी चप्पल किन्न सक्छु र ?’ चप्पल र जुत्ता किन्ने पैसा नभएका हजब्बा नांगै खुट्टा राष्ट्रपति भवन छिर्दा कसैले रोकटोक गरेन । केही वर्षयता उनी नांगै खुट्टा सार्वजनिक ठाउँमा देखिने गरेका थिए ।

पुरस्कार पाउँदाको क्षणलाई हजज्बाले यसरी वर्णन गरेका छन् :

‘म कहाँ र कुन पृष्ठभूमिबाट आइपुगेँ भनेर तपाईंहरु साक्षी हुनुहुन्छ । म हरेकला नामको नामै नसुनिएको र कुनै इतिहास नभएको गाउँबाट आएको हुँ । यस्तो मान्छे सर्वोच्च नागरिक सम्मान थाप्न जाँदा कुर्सीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र अन्य उच्चपदस्थ कर्मचारी बसेको देखेँ । यस्तो देखेपछि मेरो दिमागमा अकस्मात मेरा बाबुआमा खेल्न थाले । मैले उनीहरुलाई शरिर ढाक्ने लुगा नभएको, नांगै खुट्टा भएको र एकछाक खाना जुटाउन कठिन हुने अवस्थाको स्मरण गरेँ ।’

एकपटक एकजना विदेशी गाउँमा गएको बेला उनले अंग्रेजीमा एउटा फलको नाम हजब्बालाई सोधे । तर, हजब्बाले उक्त फलको नाम भन्न सकेनन् । अनि उनलाई लाग्यो, म निरक्षर छु । उनले अपमानित महसुस गरे । यही घटनापछि उनलाई एउटा स्कुल खोलेर भावी पिँढीलाई साक्षर तुल्याउनुपर्छ भन्ने लाग्यो । अनि उनले एउटा स्कुल खोल्ने निर्णय गरे ।

तुलसी गोद्वा पनि पद्मश्री सम्मान लिन जाँदा सबैको ध्यान तान्ने पात्र बनिन् । ३० हजार विरुवा रोपेकी तुलसी वातावरण अभियन्ता समेत हुन् । औपचारिक शिक्षा नभएकी उनले आमा र वातावरणबाट धेरै कुरा सिकिन् । हजब्बा र गोद्वा भारतीय समाजका दुई नायक हुन् जसले कुनै फलको आशाविना निरन्तर मिहेनत गरिरहे ।

तुलसी कर्णाटक जिल्लाको उत्तरी कानडा गाउँमा बसोबास गर्ने हालाकी आदिवासी समुदायकी हुन् । १२ वर्षदेखि नै उनले आमासँग मिलेर विरुवा रोप्दै गर्दा उनले यसबारे धेरै ज्ञान हासिल गरिन् । ६० वर्षयता उनले ३० हजारभन्दा बढी विरुवा रोपिसकेकी छिन् । उनी अहिले वातावरण संरक्षणमा सक्रिय छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर