एसएसबीको ज्यादती बढेसँगै थप त्रासमा सुस्ताबासी, राज्यले पनि दोस्रो दर्जाको नागरिक ठानेको गुनासो – Nepal Press

एसएसबीको ज्यादती बढेसँगै थप त्रासमा सुस्ताबासी, राज्यले पनि दोस्रो दर्जाको नागरिक ठानेको गुनासो

रुपन्देही । लामोसमयदेखि भारतीय पक्षबाट प्रताडित पश्चिनवलपरासीको सुस्ताबासी भारतीय पक्षले फेरि अतिक्रमणको प्रयास गरेपछि पुनः त्रस्त बनेका छन् । पछिल्लोपटक भारतीय अर्धसैनिक बल (एसएसबी) हतियारसहित सुस्ता क्षेत्रमा प्रवेश गरेर अतिक्रमणको प्रयास गरेपछि उनीहरुमा त्रास थपिएको हो ।

पछिल्लोपटक गत आइतबार र सोमबार भारतीय एसएसबीका जवानहरु हतियारसहित सुस्तामा पुगेर नापजाँच नै गरेका छन् । जसबाट बाँकी रहेको जमिनसमेत फेरि भारतले खोस्ने हो कि भन्ने चिन्तामा सुस्ताबासी छन् । अतिक्रमण गर्ने उद्देश्यले नै भारतीयले बेलाबेलामा नापजाँच गर्ने गरेको स्थानीय रविन्द्र जयसवालको भनाइ छ । ६ महिनाअघि पनि एसएसबीले सुस्ता क्षेत्रमा ड्रोन चलाएका थिए ।

पश्चिमनवलपरासीको सुस्ता गाउँपालिका– ५ मा रहेको नारायणी नदीपारिको गाउँ सुस्ता पटक–पटक भारतीय पक्षको अतिक्रमणमा पर्दै आएको क्षेत्र हो ।

सुस्ता गाउँ कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये १४ हजार हेक्टर जमिन भारतीयले अतिक्रमण गरिसकेको छ । ७ हजार ५ सय हेक्टर मात्रै नेपालीले भोगचलन गर्दै आएका छन् । नेपाल सरकारले सुस्ताको विवाद समाधान गर्न तत्काल पहल नगर्ने हो भने सुस्ताको बाँकी रहेको जमिन पनि भारतीयको कब्जामा पर्नसक्ने खतरा बढेको छ ।

सुस्ता क्षेत्रमा २०६२ जेठ १७ देखि भारतीयले अतिक्रमण बढाउँदै गएका हुन् । अतिक्रमण बढेपछि २०६४ सालमा दुवै देशका जिल्लास्थित सुरक्षा अधिकारीको वार्तामा १९ हजार ४ सय ८० हेक्टर जमिन कुनै पनि पक्षले जोतभोग र उपयोग नगर्ने सहमति गरिएको थियो । उक्त जमिनको सुस्तावासीसँग लालपुर्जा छ । तर भारतीय पक्षको दबाबका कारण त्यसबेलाको जिल्लास्थित सुरक्षा अधिकारीहरुले जोतभोग नगर्ने सहमति गरेका थिए । त्यहीं जमिनमा अहिले एसएसबीले नापजाँच गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

एसएसबीले नापजाँच सुरु गरेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहितको जिल्ला सुरक्षा समितिका अधिकारीहरुको टोलीले सुस्ता क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेको छ । सीमा सुरक्षाका लागि सुस्तामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोष्ट छ । हतियारसहित आएका एसएसबीले गरेको नापजाँचका बारेमा माथिल्लो निकायमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाइ छ ।

भारतीय पक्षबाट अतिक्रमित नेपाली भूमि फिर्ताका लागि अहिलेसम्मका सरकार भारतसंग झुकेको सुस्तावासीको भनाइ छ । भारतीय पक्षबाट अतिक्रमित नेपाली भूमि नवलपरासीका सुस्तावासीले नागरिकता र लालपूर्जाको माग गरिरहेका छन् ।

वर्षौदेखि बसोवास गर्दै आएका उनीहरुले नेपाली नागरिकता र लालपूर्जा नहुँदा दोस्रो दर्जाको नेपाली हुनुपरेको बताएका छन् । भारतीय अतिक्रमणको थिचो मिचोमा परेर पनि नेपाली भूमि सुरक्षित गरेर बस्दै आएका सुस्तावासीले मिचिएको भूमि फिर्ताका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताएका छन् ।

नेपालीसँग भएको १४ हजार हेक्टर पूर्जा भएको जमिन पनि भारतीय पक्षले अतिक्रमण गरेर भोगचलन गर्दै आएको छ । सुस्ता बचाउन अभियानका संयोजक गोपाल गुरुङले भारतीय पक्षसंग लडेर नेपाली भूमि बचाएका सुस्ताबासीलाई नागरिकता र जग्गाको लालपूर्जा दिन सरकारसंग माग गरे ।

उनले नेपाली भूमि जोगाउने अभियानलाई साथ दिन सबै नेपालीलाई आग्रह गरे । सुस्ताको सबै भूमि अतिक्रमणका लागि अहिले पनि भारतीयहरुले आफूलाई धम्काउने गरेको बताए ।

भारतीय नम्बरबाट फोन गरेर धम्काउने र डर देखाउने गरेको संयोजक गुरुङले गुनासो गरे । . भारतीय पक्षले हैरान पारेपछि मोबाइलको सिमसमेत बदल्नु परेको गोपाल गुरुङको भनाइ छ । सशस्त्र बल नबसेको अवस्था २०६२ कार्तिक ४ गते अघि भारतीय एसएसबीले सुस्ताका नागरिक र भूमिमाथि अत्याचार गर्दै आएको र गाउंलेहरुले खुकुरी,खुंडा र तरवार बोकेर भारतीयहरुसंग लडेर बल्लबल्ल बाचिएको गुरुङले बताए ।

२०३४ सालमा जब नारायणी नदीको धार बदलियो तब नेपालीको ४० हजार ९८० हेक्टर जमीन गायब भयो । सुस्तामा आज ७ हजार हेक्टर जमिनमा नेपाली बस्दै आएका छन् । १४ हजार हेक्टर जमिनको पूर्जा नेपालीसंग भएपनि भारतीय पक्षले भोगचलन गर्दै आएको छ ।

करिब १९ हजार हेक्टर जमिन विवादित भूमि रहेको सशस्त्र प्रहरी सुस्ताले बताएको छ । करिब ३ हजार जनसंख्या रहेको सुस्तामा २६५ घरधुरी छन् । १९५ घरधुरीका नागरिकको मात्र नागरिकता पाएका छन् । सुस्ताको नामांकन, सीमांकन हुनुपर्ने र नागरिकता पाउनुपर्ने सुस्ताबासीले माग गदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर