बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय – Nepal Press

बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय

एजेन्सी । बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई दोषी ठहर गरेको हो ।

सिन्हा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए ।

सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको अलग अलग सजाय भोग्नु पर्नेछ ।

राजधानी ढाकाको विशेष अदालतका न्यायाधीश शेख नजमुल अलामले मंगलबार सिन्ह्वालाई सम्पत्ति शुद्धीकरण अभियोगमा सात वर्ष र ठगी अभियोगमा चार वर्ष सजाय सुनाएका थिए । सिन्हा हाल क्यानडामा बस्छन् ।

७० वर्षीय सिन्हाले अन्य सात जनासँग मिलेर नक्कली कागजात प्रयोग गरेर एउटा बैंकबाट चार करोड टाका रकम हिनामिना गरेको अदालतको ठहर छ ।

अदालतले दोषी ठहर गरेका अन्य आठ जनालाई पनि फरक फरक सजाय तोकिएको छ । यसअघि जनबरीमा ढाकाको एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सिन्हा सन् २०१५ को जनबरीमा बंगलादेशको सर्वोच्च अदालतको २१औं प्रधानन्यायाधीश भएका थिए ।

सन् २०१६ मा विदा लिएर अमेरिका गएका सिन्हाले उतैबाट राजीनामा दिएका थिए । उनले सन् २०१७ को नोभम्बरमा राजीनामा दिएका थिए । विदेशमा रहँदा उनले लेखेको पुस्तक ‘अ ब्रोकन ड्रिम’ विवादमा तानिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर