उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको कांग्रेस नेता सिंहको आरोप – Nepal Press

उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको कांग्रेस नेता सिंहको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले रामचन्द्र पौडेल नेतृत्वमा सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको आरोप लगाएका छन् ।

आज विहान कांग्रेस संस्थापन नेता तथा पिता स्वर्गीय गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिंहले भने, ‘अहिलेको अवस्थामा राजनीतिक समन्वय समिति त्यति आवश्यक छ भन्ने लाग्दैन, यो समिति सरकारभन्दा माथि हुन जान्छ, संविधानविपरीत हुन जान्छ ।’

यो समितिको प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि विरोध गरेको छ ।

कम्युनिष्ट पार्टीमा सरकारलाई पनि कन्ट्रोल गर्ने मेकानिजम हुने गरेको उल्लेख गर्दै सिंहले भने, ‘डेमोक्र्याट पार्टीमा यस्तो समितिको आवश्यकता नभई किन बनाउनु भयो ? राज्य सरकारले सञ्चालन गर्ने हो । पार्टी (कांग्रेस) सभापतिको नेतृत्वमा सरकार छ । सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु उचित होइन ।’

नेता सिंहले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्न जरूरी नरहेको बताएका छन् । सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल हुने नेताहरूले नै बताइरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेसले कसैसँग तालमेल गर्न जरूरत छैन । आफूनै बलबुतामा लड्नुपर्छ ।’

कांग्रेस आफ्नै एजेण्डामा निर्वाचनमा उभिउनुपर्ने बताउँदै सिंहले अर्थिक सम्पन्नता दिलाउन र कांग्रेस नेतृत्वमा प्राप्त अधिकार संस्थागत गर्नुपर्ने बताए । ‘त्यसपछि मात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जलि मानिनेछ,’ उनले थपे ।

सिंहले अर्ली इलेक्सनबारे सोधिएको प्रश्नमा घुमाउरो जवाफ दिए । ‘अर्ली इलेक्सन विधिसम्वत आओस् । तर, संविधान र विधि अनुसार गर्नुपर्छ । संविधानको मर्म र भावनाबाहिर गएर कुनै पनि चुनाव हुनुहुँदैन,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर