हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न गठित समितिद्धारा प्रतिवेदन पेश – Nepal Press

हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न गठित समितिद्धारा प्रतिवेदन पेश

तीनै स्थानमा आत्महत्या भएको छानविन समितिको निष्कर्ष

काठमाडमौं । गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बनाएको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजकसमेत रहेका सहसचिव थानेश्वर गौतमले मंगलबार मन्त्रालयमा पुगेर मन्त्री खाणलाई प्रतिवेदन बुझाएका हुन् ।

गौतमको संयोजकत्वमा गठित नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको छानबिन समितिले छानबिनबाट भेटिएका प्रमाणले तीनै स्थानमा आत्महत्या भएको पुष्टि गरेको दाबी गर्दै प्रतिवेदन बुझाएको हो ।

कात्तिक एक गते जिल्ला प्रहरी कार्यालय सुनसरीको पुरुष हिरासत कक्षमा गत असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका पाँचका २९ वर्षका मोहम्मख हकिमले झुण्डिएर आत्महत्या गरेका थिए ।

यस्तै इलाका प्रशासन कार्यालय टिकापुर कैलालीको हिरासत कक्षमा भैसी चोरी गरेको आरोपमा पक्राउ गरिएका सुर्खेतको चौकुने गाउँपालिका तीन का ३५ वर्षका धनबहादुर रानाले असोज २५ गते झुण्डिएर आत्महत्या गरेका थिए ।

र कारागार कार्यालय पर्वतमा जबरजस्ती करणी कसुरमा थुनामा रहेका बन्दी जिल्लाको फलेबास नगरपालिका सातका ५८ वर्षका दुर्गाराज पाण्डेले झण्डिएर आत्महत्या गरेका थिए ।

यि तीन वटै घटनाका छानविन गर्नका लागि गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या भएको पुष्टि भएको बताए ।

समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदी बन्दीलाई मनोसामाजिक परामर्श दिनुपर्ने, थुनुवालाई निःशुल्क कानुनी परामर्श दिनुपर्ने, हिरासत कक्षमा सुरक्षा निगरानी गर्नुपर्ने, हिरासत कक्षमा राखिएका सीसीटिभीलाई रेकर्डिङ र मोनिटरिङ गर्ने व्यवस्था गर्नु पर्नेलगायतका सुझाव दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर