चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक सुरु : पार्टी महासचिव सी तेस्रो कार्यकाल पनि राष्ट्रपति हुने – Nepal Press

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक सुरु : पार्टी महासचिव सी तेस्रो कार्यकाल पनि राष्ट्रपति हुने

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९ औं केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । पार्टी महासचिव सी जिनपिङले केन्द्रीय कमिटीअन्तर्गत राजनीतिक ब्यूरोको तर्फबाट कार्य प्रगति विवरण प्रस्तुत गरे ।

सयवर्षमा चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको विवरण उनले प्रस्तुत गरे । छैटौं विस्तारित सम्मेलन पनि रहेको यो बैठक बिहीवार सकिने ग्लोबल टाइम्सले जनाएको छ ।

यो बैठकले राष्ट्रपतिको रुपमा जिनपिङलाई तेस्रो कार्यकालको रुपमा निरन्तरता दिनेबारे निर्णय गर्नेछ । पार्टीको प्रमुख उपलब्धी र ऐतिहासिक अनुभवका आधारमा तयार पारिएको प्रतिवेदन पारित हुने अपेक्षा गरिएको छ ।

सन् १९२१ मा पार्टी गठन भएयता यस्तो संकल्प पत्र पारित हुन लागेको यो तेस्रो पटक हो । पहिलो संकल्प पत्र सन् १९४५ मा माओत्से तुङ र सन् १९८१ मा देङ सिआओपिङले दोस्रो संकल्प पत्र पेश गरेका थिए ।

आजदेखि सुरु भएको बैठकमा केन्द्रीय कमिटीका ३०० भन्दा बढी सदस्यले भाग लिएका छन् । चिनियाँ संचारमाध्यमका अनुसार सन् २०१२ मा सत्ता सम्हालेपछि राष्ट्रपति जिनपिङले मुख्यतः दुईवटा लक्ष्य राखेका थिए ।

पहिलो- सन् २०२१ मा कम्युनिष्ट पार्टी गठनको १०० वर्ष पुरा भएको अवसरमा चीनलाई समृद्ध तुल्याउने र दोस्रो- सन् २०४९ सम्म चीनलाई अत्याधुनिक साम्यवादी समाज बनाउने ।

यो बैठकले पार्टी महासचिव सीलाई थप शक्तिशाली बनाउने चिनियाँ संचारमाध्यमले जनाएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर