भ्वाइस अफ किड्सका कोच प्रमोद खरेल भन्छन् : यस सोका बच्चाले नै भोलिको नेपाली संगीतलाई अघि बढाउनेछन् – Nepal Press

भ्वाइस अफ किड्सका कोच प्रमोद खरेल भन्छन् : यस सोका बच्चाले नै भोलिको नेपाली संगीतलाई अघि बढाउनेछन्

काठमाडौं । कार्तिक २६ गतेदेखि द भ्वाइस अफ नेपालको किड्स संस्करण प्रसारण हुँदैछ । ६ देखि १४ बर्षका बच्चाहरुले सहभागिता जनाएको रियालिटी शो हमालय टीभी एचडीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि प्रशारण हुने जनाइएको छ । शोको ‘ब्लाइन्ड अडिसनको सुटिङ सकिएको छ ।

कोच (प्रशिक्षक)को रुपमा यो संस्करणमा गायकद्धय प्रमोद खरेल र राजु लामा, गायिकाद्धय मिलन अमात्य र प्रविशा अधिकारी छन् । ती चार कोचमध्येका एक हुन् प्रमोद खरेल । यसपटक दर्शकले यो रियालिशी शोमा बच्चाहरुको गायन कलाको साथमा उनीहरुको रमाइलो प्रस्तुति हेर्न पाउने उनी बताउँछन् । प्रमोदले भने-‘हामीले यो शोमा बच्चाहरुको प्रस्तुति, उनीहरुको प्रतिभा र मनोरञ्जनलाई पनि ध्यान दिएका छौं । बच्चाहरुले आफू नजन्मदै सार्वजनिक भएका गीतहरु समेत गाएका छन् ।’

आफूहरुले बच्चाको मनोविज्ञानलाई समेत ध्यानमा राखेको प्रमोदको भनाई छ । उनले भने- ‘बच्चाहरुको दिमाग कमलो हुन्छ । यसैले, यो शोमा हामीले रिसाउने, सोझो तरिकाले प्रतिक्रिया दिन मिल्दैन ।’

प्रमोदका अनुसार, शोको सबैभन्दा रोचक राउन्ड नै ‘ब्लाइन्ड राउन्ड’ हो । आफूले बच्चाहरुको स्वर सुनेरै कुर्ची घुमाएको उनी बताउँछन् । भने-‘ठूलो मान्छेको जस्तै बच्चाको पनि स्वर नै सुन्ने हो । तर, कहिलेकाही छोराको स्वर होला भन्ने सोच्यो, छोरीको हुन्छ । छोरीको होला भनेर सोच्दा छोराको हुन्छ । केही बच्चाहरुको त स्वर सुनेर पनि छोरा वा छोरी छुट्याउन नसकिने रहेछ ।’

प्रमोदका अनुसार, बच्चाहरुले संगीतलाई गहिरो रुपमा सिकेर आएका हुँदैनन् । तर, पहिले-पहिलेको भन्दा अहिलेका बच्चाहरुमा संगीतको ज्ञान भने धेरै भएको उनको भनाई छ । आमा-बुबाले पनि बच्चाहरुलाई तयार पारेर ल्याएको प्रमोदले बताए ।

अरु गायन रियालिटी शो भन्दा ‘द भ्वाइस किड्स’को शैली नै फरक भएको उनको भनाई छ । उनी भन्छन्-‘शोको रोचक राउन्ड नै ब्लाइन्ड हो । बच्चाहरुले कोच रोज्ने क्रममा निक्कै रमाइलो गरेका छन् । हामीले पनि उनीहरुलाई बच्चाकै रुपमा व्यवहार गरेका छौं ।’

तर, शोबाट बाहिरिदा बच्चाहरुले देखाउने व्यवहारले भने कोच प्रमोदको पनि मन रोएको छ । उनी भन्छन्-‘ठूलो मान्छे बाहिरिदा त दुःख लाग्छ । झन्, बच्चाहरु बाहिरिदा नरमाइलो लाग्नु त स्वभाविक नै हो । बाहिरिनुपरेपछि बच्चाहरु स्टेजमै रोएका पनि छन् । दर्शकलाई पनि टीभीमा हेर्दा नरमाइलो लाग्न सक्छ ।’

एउटा उत्कृष्ट शो दर्शकमाझ आउन लागेकाले सबैले हेरेर प्रतिक्रिया दिनेमा प्रमोद विश्वस्त छन् । उनी भन्छन्-‘यो शोका ट्यालेन्टले नै हो नेपाली सांगीतिक क्षेत्रलाई भोलीका दिनमा अगाडि बढाउने । यसैले, एउटा पारिवारिक शो दर्शकमाझ आउन लागेको छ । सबैले ‘द भ्वाइस अफ नेपाल’लाई जस्तै माया दिनेमा विश्वस्त छु ।’

प्रमोदले आफूले ह्याट्रिकको बिषयमा भने नसोचेको बताए । राम्रो प्रतिभा जसले जितेपनि आफू खुशी हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर