बुटवलमा प्रभावकारी बन्दै न्यायिक समिति, अधिकांश मुद्दा मेलमिलापबाटै निरुपण – Nepal Press

बुटवलमा प्रभावकारी बन्दै न्यायिक समिति, अधिकांश मुद्दा मेलमिलापबाटै निरुपण

रूपन्देही । बुटवल उपमहानगरपालिकाले न्याय निरुपण र न्यायिक समितिका कामलाई प्रभावकारी बनाएपछि दर्ता भएका अधिकांश उजुरी तथा निवेदन मेलमिलापबाट टुंगो लाग्ने गरेको छ ।

पीडितका निवेदनका आधारमा आरोपितलाई समेत उपस्थित बनाएर विभिन्न चरणमा मेलामिलाप केन्द्रमा छलफल गराइएपछि त्यस्ता गुनासाहरुको समाधान सहज भएको न्यायिक समितिका संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ ।

बुटवलमा न्यायिक समितिको कार्यविधि बन्नु अघिदेखि नै मेलमिलापका माध्यमबाट विवाद समाधान गर्दै आएको र मिल्न नसकेका मुद्दाहरुमा कार्यविधि मार्फत इजलासमा लगिने गरिएको थियो । पछि कार्यविधि र मुलुककै पहिलो पालिकाको इजलास बनेपछि न्यायिक समितिका काम थप प्रभावकारी भएका छन् ।

न्यायिक समितिका कामलाई प्रभावकारी बनाउन तथा समुदायस्तरमा पनि मेलमिलापका कामलाई सहज बनाउन मेलमिलापकर्ताका अतिरिक्त टोलविकास संस्था र जनप्रतिनिधिहरुलाई समेत विभिन्न समयमा तालिम सञ्चालन गरिएको संयोजक आचार्यले बताइन् ।

मेलमिलापबाट दुवै पक्षले न्यायको अनुभूति गर्ने भएकाले मेलमिलाप प्रक्रियालाई विशेष महत्व दिएको उल्लेख गर्दै संयोजक आचार्यले विवादहरुलाई मेलमिलापका माध्यमबाट समाधान गरिँदा प्रभावकारी हुने र त्यसले सबैलाई फलिफाप हुने बताइन् ।

बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले सामुदायिक मेलमिलापलाई प्राथमिकतामा राख्दै आएको छ । समुदायस्तरमा मेलमिलापका काम गराउँदै आएका बुटवलका ८८ जना सामुदायिक मेलमिलापकर्ताहरुले हालै तीन दिने पुनर्ताजगी तालिम समेत लिएका छन् ।

समितिका सदस्य सचिव ध्रुव भट्टराईका अनुसार हालसम्म दुई सय ७० वटा विवादलाई मेलमिलापबाटै समाधान गरिएको छ । समितिमा दर्ता भएका तीन सयभन्दा धेरै मुद्दामध्ये अधिकांश मेलमिलापबाट टुंगो लगाइएको हो । केही मुद्दालाई अदालतमा पठाइएको छ ।

बुटवलको न्यायिक समितिमा सम्बन्धविच्छेद, घरेलु हिंसा, घर बहाल सम्झौता, आफ्नो निजी जग्गामा अरुले संरचना बनाएको तथा सिमाना विवादका मुद्दाहरु समितिमा आएका थिए । बुटवलको इजलाश व्यवस्थित र प्रभावकारी रहेको भन्दै केही समय अघि सर्वोच्च अदालतका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरुको टोलीले निरीक्षण समेत गरेको थियो ।

कस्ता मुद्दा दर्ता भएका छन् ?

बुटवलको न्यायिक समितिमा हालसम्म दर्ता भएका निवेदन तथा मुद्दाहरुका प्रकृत्ति लगभग उस्तै उस्तै खालका छन् । अधिकांश मुद्दा खान लाउन, शिक्षा वा अंश दिलाई भराई पाउँ, घर, जग्गा भाडा दिलाई भराई पाउँ, खाली गराइ पाउँ, ज्याला मजदुरी पाउँ र बाटो निकास पाउँ भन्ने खालका दर्ता भएका छन् ।

सबै निवेदनमा निवेदन कर्ता र त्यहाँ उल्लेख गरिएका सम्बन्धितलाई मेलमिलापकर्ता मार्फत छलफल गराइन्छ । मेलमिलाप हुन नसकेका मुद्दालाई न्यायिक समितिको क्षेत्राधिकारका भए मात्रै इजलास बसिन्छ, नभए अदालतमा पठाउने गरिएको छ ।

बुटवलले एक वडामा ६ जना मेलमिलापकर्ता पुर्याउने र टोलटोलबाटै मेलमिलापका कामलाई प्रभावकारी बनाइरहेको छ । विभिन्न समयमा भएका तालिममा सहभागी र सूचीकृत हुन आएका कूल ८८ जना मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम दिने, मेलमिलापका कामलाई थप विश्वसनिय र प्रभावकारी बनाउने काम भइरहेको प्रवक्ता रामप्रसाद रेग्मीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *