तिहारमा सुनको उत्साहजनक व्यापार, एकैदिन ४० किलोसम्म सुन बिक्री – Nepal Press

तिहारमा सुनको उत्साहजनक व्यापार, एकैदिन ४० किलोसम्म सुन बिक्री

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएका हुन् ।

उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए । अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त भएपनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडवाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताए ।

उनले मंसिर महिनाबाट विवाहको लगन हुने भएकोले त्यो बेलामा पनि राम्रो व्यापार हुने कुरामा आशावादी रहेको बताए । अध्यक्ष शाक्यले कोरोना बिरुद्धको भ्याक्सिन लगाइसकेपछि सुनचाँदीको व्यापारले पनि राम्रो लय समातेको उनको भनाइ छ । दशैँ र तिहारको बेलामा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको व्यापार १ हजार किलोसम्म भएको उनी बताउँछन् ।

अध्यक्ष शाक्यले भने,‘यस वर्षको दशैँमा दिनको ४० किलोको हाराहारीमा सुनको बिक्री भएको छ भने दशैँपछि तिहारको बेलामा लगभग ४० किलोको हाराहारीमै दैनिक व्यापार भइरहेको छ, धन्तेरसको दिनमा लगभग ५० किलोको हाराहारीमा माग आएको थियो, चाँदीको कुरा गर्दा प्रतिदिन १ हजार किलो हाराहारीमा माग आएको थियो, धन्तेरसको दिनमा तिहारमा २ हजार केजीसम्म माग आएको थियो, यो वर्षको चाड सुनचाँदी व्यवसायको लागि राम्रो रह्यो, यसमा प्रतिदिन नेपाल सरकार, राष्ट्र बैंकले २० किलो सुनको कोटा तोकिराखेको छ, हामी अहिले त्यही गरिरहेका छौँ, आजबाट बजार खुला भइसकेको छ, मलाई लाग्छ यो वर्षको मंसिर महिनादेखि विवाहको लगन शुरु हुँदैछ, त्यसमा पनि हामी आशाप्रद रुपमा राम्रो व्यापार होला भन्ने आशामा छौँ ।’

अध्यक्ष शाक्यले सरकारले सुनचाँदी सप्लाइ (वितरण) को नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताए । उनले सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै देश संघीयताको राज्य पुनः संरचनामा गइसकेकोले सुनको सप्लाइ (वितरण)लाई पनि काठमाडौँमा केन्द्रित नगरी सातै प्रदेशको राजधानी मार्फत् वितरण हुनुपर्ने धारणा राखे ।

अध्यक्ष शाक्य भन्छन्,‘यो जुन सप्लाइको सिस्टम छ, यसलाई हामीले विशेष गरेर वैज्ञानिक र पारदर्शी बनाउन जरुरी छ, यसलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने जरुरी छ, यसै सन्दर्भमा हामी रिसेन्ट्ली नेपाल राष्ट्र बैंक जाँदै छौँ, अर्थ मन्त्रालय लगायत विभिन्न नियामक निकायहरुमा यही सुनको सप्लाइसँग सम्बन्धित विषयमा कुराकानी गर्न जाँदैछौँ, अलिकति कमी कमजोरी रहन्छ, त्यसलाई पर डे ३० किलो गरेर सिजनको बेला बढी सुन ल्याउने र अप सिजनको बेलामा कम मात्रै ल्याएर बजारलाई स्तरमा राख्ने भन्ने कुरा लिएर नेपाल सरकारका विभिन्न निकायमा हामी गइरहेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *