कांग्रेसका युवा भन्छन् – प्रचण्ड र माधवको काँध चढेर कांग्रेस अग्लो हुँदैन, एक्लै चुनाव लड्नुपर्छ – Nepal Press

कांग्रेसका युवा भन्छन् – प्रचण्ड र माधवको काँध चढेर कांग्रेस अग्लो हुँदैन, एक्लै चुनाव लड्नुपर्छ

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र ‘चुनावी तालमेल’ को चर्चा चुलिएको धेरै भइसक्यो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूले सार्वजनिक मञ्चबाटै चुनावसम्मै गठबन्धन कायमै रहने र तालमेल हुने बताउँदै आएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले त राजनीतिक प्रतिवेदनमै आगामी निर्वाचनसम्म गठबन्धन र तालमेल अपरिहार्यको रहेको निष्कर्ष उल्लेख गरेका थिए । एमालेविरुद्ध गठबन्धनको पक्षमा रहेका प्रचण्ड र नेपाललाई हिम्मत भए ‘एक्लै चुनाव लड्न’ एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिँदै आएका छन् ।

कांग्रेसभित्र राजनीतिक गठबन्धन कायम रहेपनि चुनाव तालमेल गर्न नहुने विचार बलियो छ ।

प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालेपनि गठबन्धन ‘पुरै समय’ रहने बताएका छन् । यूरोप भ्रमणबाट फर्कने क्रममा देउवाले गठबन्धनबारे शंका नगर्न अनुरोध गर्दै चुनावसम्मै तालमेलको संकेत गरेका थिए ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि गत साता पत्रकारहरूसँगको भेटमा केही महत्वपूर्ण स्थानमा तालमेल हुनसक्ने बताएका थिए । कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २८ गतेका लागि बोलाइएको छ । कांग्रेसभित्र राजनीतिक गठबन्धन कायम रहेपनि चुनाव तालमेल गर्न नहुने विचार बलियो छ । हामीले नेपाली कांग्रेसका केही युवा नेताहरूलाई कांग्रेसले चुनावी तालमेल गर्न आवश्यक छ ? भनी सोधेका छौं । सबैजसो युवा नेताले कांग्रेसले कसैसँग तालमेल नगरी आन्तरिक एकता कायम गरेर चुनाव लड्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

नैनसिंह महर

नेपाली कांग्रेसले ७ दशक लामो यात्रामा धेरै अनुभव हासिल गरेको छ । त्यसमध्ये गठबन्धनको अनुभव पनि महत्वपूर्ण छ । अघिल्लो स्थानीय चुनावमा कतिपय स्थानमा कांग्रेसले माओवादीसँग गठबन्धन गरेको थियो । त्यो हाम्रा लागि उपलब्धीपूर्ण र हार्दिक हुन सकेन । त्यसैले मैले पार्टीको आसन्न महाधिवेशनमा ‘चौधौ महाधिवेशनको कार्यभार, सशक्त कांग्रेस र बहुमतको सरकार’ भन्ने नारा नै अगाडि सारेको छु । कांग्रेसको चारित्रिक विशेषता भनेको रुखमा भोट हाल्ने हो । कांग्रेसीले रुखबाहेक अन्त भोट हाल्न नसक्ने भएकोले गठबन्धन हाम्रा लागि उपयुक्त नहुनसक्छ । त्यसैले मेरो विचारमा कांग्रेसले पार्टीभित्रका समस्या समाधान गरेर एक्लै चुनावमा होमिनुको विकल्प छैन ।

मनोजमणि आचार्य

सत्तालाई मात्रै केन्द्रविन्दूमा राख्ने हो भने त चुनावमा जोसँग तालमेल गरेपनि हुन्छ तर कांग्रेस सत्ताको लागि होइन विचारका लागि लडेको पार्टी हो । देशकै पुरानो र ठूलो लोकतान्त्रिक पार्टी भएकोले हामीले कम्युनिष्टहरूसँग गठबन्धन गर्नु उपयुक्त हुँदैन । कांग्रेसका कार्यकर्ताले रुखबाहेक अन्त भोट हाल्दा पनि हाल्दैनन्, चुनाव जित्न हामीलाई अरुको भोट पनि चाहिँदैन । कांग्रेस एकताबद्ध भयो भने एक्लै बहुमत ल्याउन सक्षम छ । अब हुने चुनावमा कांग्रेस एक्लै लड्नुपर्छ । यदि कांग्रेसको बहुमत आएन र सत्ता सञ्चालनका लागि गठबन्धन आवश्यक पर्यो भने जनताको म्याण्डेट र त्यतिबेलाको संसदको अंकगणितले नै निर्धारण गरिहाल्छ । त्यसैले चुनावमा कसैसंग पनि तालमेल गर्नुहुँदैन ।

भूपेन्द्रजंग शाही

यतिबेला नेपाली कांग्रेस एक्लै बहुमत ल्याउन सक्षम छ । प्रचण्ड र माधव नेपालको काँधमा चढेर कांग्रेस अग्लो हुँदैन । चुनाव जितेरमात्रै हुँदैन, जनताको अपेक्षाअनुसार काम पनि गर्न सक्नुपर्छ । त्यसका लागि कांग्रेसले बहुमतको सरकार बनाउन सक्नुपर्छ । सरकारमा जान र कुर्सी ओगट्नमात्रै कम्युनिष्टसँग तालमेल गर्नुहुँदैन । हिजो कम्युनिष्टहरूले गरेको गल्तीको भार कांग्रेसले आज बोक्यो भने कांग्रेसका शुभचिन्तकहरू अझ रुष्ट बन्छन् । त्यसैले कम्युनिष्टसँग चुनावी तालमेल होइन प्रतिस्र्धा नै कांग्रेसको एजेण्डा बन्नुपर्छ । कांग्रेसले महाधिवेशनबाट सक्षम नेतृत्व छान्नुपर्छ । भ्रातृ संस्थाहरूलाई चलायमान बनाउनुपर्छ । गुटबन्दीको अन्त्य गरेर जनतामाझ उभिनुपर्छ । कम्युनिष्टसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा हुँदैन ।

लक्ष्मी खतिवडा

गठबन्धन अहिले तत्काल उत्पन्न परिस्थितिको उपजमात्रै हो । गठबन्धनको संस्कृतिले सत्ता साझेदारीमा गुटबन्दी नहोस्, देश विकासका लागि मुख्य दलहरूबीच सहमति होस् भन्ने कुरामा जोड दिन्छ । यद्यपि हिजो वामगठबन्धनले झण्डै दुईतिहाइ पाउँदापनि पार्टीभित्रको आन्तरिक एकता नहुँदा जनताले दिएको म्याण्डेटलाई अपमान गरियो । कांग्रेसले सहमति, सहकार्य र एकताको राजनीतिलाई सधै प्राथमिकता दिनुपर्छ । गठबन्धन जोगाउनुपर्छ भनेर गठबन्धनका घटकहरूले भन्नु स्वभाविक छ । तर, चुनावमै तालमेल गर्न आवश्यक छैन । नेपालका सबै कम्युनिष्टसँग लड्न कांग्रेस एक्लै काफी छ । कांग्रेसका नेताहरू अनावश्यक झगडामा नलागी मिल्ने हो भने चुनाव एक्लै जितिन्छ । त्यसैले कसैसँग तालमेल गर्नै पर्दैन ।

डिल्लीराम सुवेदी

नेपाली कांग्रेस प्रि-इलेक्सन एलायन्सको पक्षमा उभिनु हुँदैन । निर्वाचन आफ्नै बुताले लड्नु नै कांग्रेसको आवश्यकता हो । कांग्रेस आफैले संविधान बनाएर कार्यान्वयनको नेतृत्व गर्दापनि कम्युनिष्टहरूले गठबन्धन गरेर झण्डै दुइतिहाई ल्याए । यद्यपि नेपालका कम्युनिष्टहरूले सत्ता सञ्चालन गर्न असफल भएपछि कांग्रेसकै नेतृत्वमा मुलुकलाई निकास दिएका छौं । यसबाट नेपाली कांग्रेस निर्विकल्प शक्ति हो भन्ने स्थापित भएको छ । कम्युनिष्टहरूले नेपाललाई नेतृत्व दिन सक्दैनन् भन्ने प्रमाणित भएको छ । त्यसैले एकल बहुमतका लागि कांग्रेस जनतामा जानुपर्छ । त्यसका लागि सक्षम नेतृत्व र उपयुक्त नीति लिएर कांग्रेस अगाडि जानुपर्छ । गठबन्धनबारे सोच्नुपर्ने कांग्रेसको हितमा छैन । कम्युनिष्टहरूले निर्माण गरेको भ्रम चिर्नपनि सबै कम्युनिष्ट शक्तिविरुद्ध कांग्रेस एक्लै चुनाव लड्नुपर्छ ।

बजरंग नेपाली

कांग्रेसले कुनैपनि दलसँग तालमेल गरेर चुनाव लड्ने गल्ती कुनै हालतमा गर्नुहुँदैन । कांग्रेसका लागि केपी ओली, प्रचण्ड वा माधव नेपाल सबै एउटै हुन् । मौका पर्दा कांग्रेसविरुद्ध उनीहरू एक भइहाल्छन् । त्यसैले एउटा कम्युनिष्टविरुद्ध अर्को कम्युनिष्टसँग गठबन्धन गरेर चुनाव लड्नु कांग्रेसका लागि आत्मघाती हुन्छ । माओवादी, समाजवादी वा जसपासँग कांग्रेसले तालमेल गर्यो भनेपनि भोट ट्रान्सफर हुनेवाला छैन । त्यसको लाभ एमालेले नै लिन्छ । तराई मधेशमात्रै होइन अहिले देशैभरी कांग्रेसको माहोल राम्रो बनेको छ । एक्लै चुनाव लडेर कांग्रेसले देशलाई नेतृत्व गर्नुको विकल्प मैले देखेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर